प्रमोद सहनी
मकवानपुर, वैशाख २१ । मकवानपुरगढी गाउँपालिका–५ सोलथुम चुहारस्थित कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न गएका एक व्यक्तिको भिरबाट लडेर ज्यान गएको छ। मृत्यु हुनेमा मकवानपुरगढी–५ निवासी ५२ वर्षीय कप्तान रुम्बा रहेको मकवानपुर प्रहरी कार्यालयले जानकारी दिएको छ। घटना आज दिउँसो करिब १२:३० बजेको समयमा भएको हो।
रुम्बा सामुदायिक वनमा कुरिलो संकलन गर्न गएका बेला करिब १०० मिटर तल भिरबाट खसेका थिए। घटनाबारे वडा अध्यक्ष जितेश दाहालमार्फत दिउँसो १४:५० बजे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक विरेन्द्र रायमाझीको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान पूरा गरेको र हाल शवलाई हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको जनाइएको छ। प्रहरीले घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यसबीच, स्थानियवासीले कटुसघारी वन क्षेत्र जोखिमपूर्ण भिरालो रहेको बताउँदै सावधानी अपनाउन आग्रह गरेका छन्।









