विसं २०५७ (सन् २०००) देखि निरन्तर रूपमा हजारौं विषालु सर्पहरूको जीवन बचाउँदै आएका तथा अनगिन्ती मानिसहरूलाई सर्पको खतरा देखाएर चेतावनी दिने काम गरेका “स्नेक म्यान” जय कुमार सहनीको मृत्यु भएको छ।
एक सर्प उद्धार (रेस्क्यू) कलको क्रममा गएको बेला विषालु सर्पको टोकाइबाट गम्भीर घाइते भएका जय कुमार सहनीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भयो। उनले जस नाग वंशको संरक्षण गर्ने कसम खाएका थिए, अन्ततः त्यही नाग वंश उनको मृत्युको कारण बन्यो।
जय कुमार सहनी केवल सर्प उद्धारकर्ता थिएनन्, उनी एक सजीव अभियान थिए—जो सर्पलाई नमारौं, बुझौं भनेर जनचेतना फैलाइरहेका थिए। गाउँ-शहरका मानिसहरूलाई सर्पको वास्तविकता बुझाउने, डर हटाउने र सहअस्तित्व सिकाउने काममा उनी समर्पित थिए।
उनको निधनसँगै भारतले एक सच्चा वन्यजन्तु संरक्षक गुमाएको छ। तर उनको योगदान, सन्देश र सम्झना अझै धेरै पुस्तासम्म जीवित रहनेछ









