२०८२ फाल्गुन १९ गते मंगलवार

चन्द्रपुरमा प्रेस स्वतन्त्रता दिवशको अवसरमा वनभोज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौतहट, चन्द्रपुर — नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इञ्चार्ज अजय कुमार गुप्ताले प्रेस जगतले जनस्तरको आवाजलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा शनिबार चन्द्रपुर–१ नुनथरमा प्रेस चौतारी नेपाल रौतहट शाखाद्वारा आयोजित वनभोज कार्यक्रममा बोल्दै गुप्ताले स्थानीय भुइँमान्छेका समस्यालाई उजागर गर्न पत्रकारहरूलाई आग्रह गरे।

“स्थानिय स्तरमा विभिन्न किसिमका समस्या छन्। ती समस्याको उजागर गर्ने मुख्य निकाय प्रेस हो। त्यसैले पत्रकारले यस्ता कार्यमा बढी ध्यान दिनुपर्छ,” उनले भने।

उनले प्रेस स्वतन्त्रताको शुभकामना दिंदै पत्रकारिता क्षेत्र चुनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गरे। “आज सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशन आवश्यक छ,” उनले जोड दिए।

कार्यक्रम प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष अशोक कुमार पहाडीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रेम चन्द्र झा, रमेश तिमलसिना, उत्तम कुमार उपाध्याय, पूर्व अध्यक्ष शैलेन्द्र कुमार गुप्ता, नेकपा एमाले गौर नगर कमिटी अध्यक्ष, निर्वाचन विभाग प्रमुख मिथलेश झा, युवा नेता ओम प्रकाश साह, गौर अस्पताल सञ्चालक समिति अध्यक्ष शेख अनवर, प्रेस चौतारीका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल पत्रकार महासंघ रौतहट शाखाले पनि प्रेस स्वतन्त्रता दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। महासंघको कार्यालयमा आयोजित सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गिरी प्रमुख अतिथि थिए।

कार्यक्रम शाखा अध्यक्ष संजय कुमार कार्कीको अध्यक्षतामा सम्पन्न भयो भने सञ्चालन सचिव गौतम श्रेष्ठले गरेका थिए। कार्यक्रममा जिल्लाभरिका पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM