२०८२ फाल्गुन १९ गते मंगलवार

गौर भन्सारमा सशस्त्र प्रहरी इन्चार्जद्वारा महिलामाथि निर्घात कुटपिट

रौतहट — रौतहटको गौर भन्सार क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका इन्चार्ज डिएसपी गहेन्द्र भण्डारीले एक सर्वसाधारण महिलामाथि अकारण कुटपिट गरेको घटनाले स्थानीयस्तरमा आक्रोश फैलिएको छ। दुर्गाभगवती गाउँपालिका–४ पचरुखी घर भएकी ३०वर्षीया सुनिता देवीका अनुसार उनी पानी खान गएकी बेला डिएसपी भण्डारीले बिना कुनै उक्साहट लछारपछार गर्दै लौरोले निर्घात कुटपिट गरेका थिए। उनको खुट्टामा चोट लागेको र डाम परेको पीडितले बताएकी छिन। “म पानी खान गएकी थिएँ, उ बाटै गाली गर्दै आयो अनि एक्कासी कुट्न थाल्यो,” पीडितको भनाइ छ। प्रत्यक्षदर्शीहरूका अनुसार डिएसपी भण्डारी अत्यधिक मदिरा सेवन गरेर मात्तिएको अवस्थामा थिए।

स्थानीयहरूका अनुसार उनको व्यवहार नियन्त्रित नभएको र आक्रमक ढंगले प्रस्तुत भएको थियो। घटनापछि भन्सार क्षेत्र करिब एक घण्टासम्म तनावग्रस्त रह्यो। विरोधस्वरूप स्थानीय बासिन्दाहरूले सशस्त्र क्याम्प अगाडि ढुंगामुढा गर्दै नाराबाजी गरेका थिए। पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा न्यायका गोहार लगाउदै छिन्। तर, अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनले प्रहरी प्रशासनप्रति असन्तुष्टि व्यक्त गरेकी छिन। “सशस्त्र प्रहरीको ज्यादतीमा परेपछि न्याय माग्न गएकी थिएँ, तर त्यहाँ कसैले सुन्न चाहेन,” उनले भनिन्। घटनाले सशस्त्र प्रहरीको अनुशासन, जनप्रतिस्थापन र नागरिकप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ।

सुरक्षा दिने जिम्मेवारी पाएको व्यक्ति आफैँले जनतामाथि आक्रमण गर्नु आपत्तिजनक र निन्दनीय भएको स्थानीय बौद्धिक समुदायको भनाइ छ। प्रहरी प्रशासन भने यस विषयमा अहिलेसम्म मौन छ। डिएसपी भण्डारीको पक्षबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन। स्थानीय मानव अधिकारकर्मीहरू र नागरिक समाजका प्रतिनिधिहरू संग घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न पीडित महिलाले गोहार लगाएइन ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM