२०८२ फाल्गुन १९ गते मंगलवार

कुवेतमा बिरामी भएर मर्न लागेकी बाजुराकी मनपुरा मल्लको सरकारलाई अन्तिम गुहार

उमेश रोकाया

बाजुरा, वैशाख १७ “म बिरामी छु। म काम गर्न सक्दिन। अब त लाग्छ, म नेपाली नै होइन कि जस्तो… सरकार सुन्छ कि सुन्दैन मलाई? अब म मर्न लागेकी छु। पर्खिन सक्दिन।”

यो करुण पुकार कुवेतको एक कोठाबाट सामाजिक सञ्जालमा घन्किएको आवाज हो । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–४ फैति गाउँकी २८ वर्षीया मनपुरा मल्लको। दुई वर्षअघि रोजगारीको आशामा कुवेत पुगेकी मनपुरा अहिले गम्भीर बिरामी छिन्, कुवेतमै एक्लो कोठामा थलिएकी। उनलाई यति थकाइ लागेको छ कि बोल्दा–बोल्दै श्वास अड्किन्छ, आँखाबाट आँसु रोक्न सक्दिनन्।

दुई महिनादेखि पेटसम्बन्धी गम्भीर रोगले ग्रस्त भएकी मनपुराले भने, “म बिरामी भएको धेरै भइसक्यो। अस्पताल जान खर्च छैन, कोही साथ दिने छैन। कम्पनीले काम गर्न नसकेको भनेर कामबाट निकालेको एक महिनाभइसक्यो। अब त मलाई नेपाल फर्किनु छ, तर फर्काउने कोही छैन।”

मनपुरा दुई वर्षअघि रोजगारीका लागि कुवेत गएकी थिइन्। गाउँमा काम थिएन, परिवारमा आर्थिक अभाव थियो। अभावकै कारण उनले सपना बुनेर विदेशी भूमिमा पाइला राखिन्। तर त्यही सपनाको बाटो अहिले दुःख, पीडा र बेवास्ताको दलदलमा परिणत भएको छ।

उनी राटोन्युजलाई रुदै भनीन्“मैले नेपाल छोडेर कुवेत आउँदा केही सपना बोकेकी थिएँ,” उनी भन्दै थिइन्, “तर अहिले लाग्छ मैले ठूलो भूल गरेछु। यहाँ बिरामी भएपछि मान्छे मान्छेको लागि केही हुँदैन। न कोही साथ दिन्छ, न सान्त्वना दिन्छ।”

उनको भन्छिन्, उनी अहिले मर्नु र बाँच्चु भन्ने दोधारमा अड्किएकी छन्। “एकछिन ठीक भएजस्तो लाग्छ, अर्कोछिन चक्कर लागेर ढल्छु। शरीर सुक्दै गइरहेको छ, आँखा धमिलो हुँदै गइरहेको छ,” उनले गहभरि आँसु पारेर भनिन्।

मनपुराको गुनासो राज्यप्रतिको विश्वास हराउँदै गएको नागरिकको चिच्याहट हो। उनले प्रश्न गरिन्, “नेपाल सरकारले किन उद्धार गर्दैन? के म नेपाली हैन? कि गरिब छोरी भएकै कारण हेलाँ गरिएको हो?”

उनी भन्छिन्, आफूले सामाजिक सञ्जालमार्फत भिडियो बनाएर सरकार र सम्बन्धित निकायलाई बोलाउँदै आएकी छन्, तर अहिलेसम्म कोही पनि सम्पर्कमा आएको छैन।

“संसारभरका नेपाली नागरिकका लागि भनेर बजेट छुट्याउने सरकार हामीजस्ता श्रमिकको पीडामा किन मौन छ?” उनले सोधिन्, “के हामीले जीवन फिर्ता पाउन राष्ट्रपतिको सिफारिस चाहिन्छ?”

मनपुराको अवस्था केवल एक महिलाको पीडा होइन। यो नेपालबाट वैदेशिक रोजगारीमा गएका हजारौं महिलाहरूको प्रतिनिधि पीडा हो। धेरै महिला अनौपचारिक रूपमा, एजेन्टमार्फत, झुटा वाचासहित खाडी मुलुक पुग्छन्। कतिपय गैरकानुनी तरिकाले पठाइएका हुँदा उनीहरूको दूतावासमा दर्ता हुँदैन।

मनपुरा पनि त्यही भीडकी एक पात्र हुन्। “कुनै म्यानपावरबाट आएको होइन। गाउँकै चिनेजानेको भरमा आएकी थिएँ,” उनले सुनाइन्, “दूतावासमा नाम दर्ता छैन, यति बेला कोसंग के भन्ने?”

बिरामी परेपछि उनले काम गर्न सकिनन्। कम्पनीले सेवा समाप्त गर्‍यो। अब न पैसा छ, न स्वास्थ्य बीमा। बाँच्नका लागि औषधि छैन। फर्कनका लागि जहाजको टिकट छैन।

कुवेतस्थित नेपाली दूतावास, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयले पटक–पटक गम्भीर केसमा उद्धार गर्ने प्रतिबद्धता जनाएका छन्। तर व्यवहारमा यस्ता पीडित महिला र पुरुषले उद्धार पाउन महिनौं–महिनौं कुर्नुपर्ने देखिएको छ।

मनपुराको पीडा सामाजिक सञ्जालमा फैलिइरहेको छ। केही सामाजिक अभियन्ताहरूले उनको उद्धारका लागि सरकारलाई ध्यानाकर्षण गराएका छन्। तर सरकारी तहबाट ठोस पहल अझै भएको छैन।

“म नेपाली हुँ भनेर जन्मिएको थिएँ। अहिले लाग्छ, मसँग देश छैन। मलाई चाँडै नेपाल फर्काइयोस्,” । यो मनपुरा मल्लको अन्तिम गुहार हो।

उनको यो आवाज अब केवल एक भिडियोमा सीमित नरहोस्। उनको जीवन बचाउन नेपाल सरकार, दूतावास, मानव अधिकारकर्मी, पत्रकार र नागरिक समाज सबैले आफ्नो ठाउँबाट दायित्व पुरा गर्नुपर्छ।

किनभने नागरिकलाई संकटमा परेका बेला नउद्धार गर्ने सरकार, आखिर कुन नागरिकका लागि हो?

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM