२०८२ फाल्गुन १९ गते मंगलवार

मकवानपुरमा पहिलोपटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने

रविन्द्र वाइबा, मकवानपुर
मकवानपुर जिल्ला फुटबल संघले पहिलोपटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले अहिलेसम्म छैटौं संस्करणसम्म पुरुष गोल्डकप आयोजना गर्दै आएकोमा अबदेखि महिलाको सहभागितालाई प्राथमिकता दिँदै नयाँ ढाँचामा प्रतियोगिता ल्याउन लागेको हो।

हेटौंडामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
“अब प्रतियोगिताको स्वरूप बदलिएको छ। महिलाहरूको प्रतिभा प्रस्तुत गर्ने लक्ष्यसहित महिला गोल्डकप शुरु गर्न लागिएको हो,” उनले भने।

बैशाख १९ गतेदेखि हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु हुने प्रतियोगितामा ८ टोली सहभागी हुनेछन्। जसमा एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब सहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराका टोलीहरू रहनेछन्।


संघका महासचिव छवि सुवेदीका अनुसार प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ भने प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

प्रतियोगितामा करिब ६१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। संघले थप प्रायोजकहरू जुटाएर पुरस्कार राशी थप गर्ने तयारी समेत गरिरहेको छ।

पत्रकार सम्मेलनमा एन्फाकी केन्द्रीय सदस्य पेमा लामा, प्रतियोगिता संयोजक प्रताव विष्ट, र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानलगायतको उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM