२०८२ फाल्गुन १९ गते मंगलवार

राष्ट्रिय परिचय पत्र विवरण दर्ता पोखरिया बाट सुरु, सेवाग्राहीमा खुसीयाली

शैलेश गुप्ता, १५ बैशाख, पोखरिया

पर्सा जिल्लाको दोस्रो सदरमुकामका रूपमा रहेको पोखरिया नगरपालिकाबाट आजदेखि राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्य औपचारिक रूपमा सुरु गरिएको छ। पोखरिया नगरपालिका सहित पकाहामैनपुर गाउँपालिका, कालिकामाई गाउँपालिका, छिपहरमाई गाउँपालिका र धोविनी गाउँपालिकाका नागरिकहरूका लागि विवरण दर्ता सेवा उपलब्ध गराइएको हो।

पोखरिया बाट सेवा सुरु भएपछि ग्रामीण क्षेत्रका सेवाग्राहीहरू निकै खुशी भएका छन्। सदरमुकामसम्म जानुपर्ने झन्झट, लामो लाइन बस्नुपर्ने बाध्यता र चर्को भाडादरबाट छुटकारा पाएको महसुस गर्दै सेवाग्राहीहरू घर फर्किएका छन्।

सेवा सुरु भएको अवसरमा सेवाग्राहीहरूले नगर प्रमुख प्रद्युम्न प्रसाद चौहानलाई धन्यवाद ज्ञापन गरेका छन्। साथै, पोखरियामा जिल्ला प्रशासन कार्यालयको शाखा तथा अन्य सरकारी कार्यालयहरू स्थापना गर्न आग्रह गरेका छन्। सेवाग्राहीहरूको मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै नगर प्रमुख चौहानले चाँडै विभिन्न कार्यालयहरूको शाखा पोखरियामा स्थापना गरिने आश्वासन दिएका छन्। साथै, नगरपालिकामा अवस्थित जुनसुकै कार्यालयको सेवा प्रवाहमा ढिलाइ भए जानकारी गराउन पनि सेवाग्राहीहरूलाई आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय, पर्साको २०८२ साल बैशाख १२ गतेको निर्णयअनुसार २०८२ साल बैशाख १४ गतेदेखि जिल्लाका चार स्थानबाट राष्ट्रिय परिचय पत्र विवरण संकलन कार्य सुरु गर्ने निर्णय भएको थियो। ती स्थानहरूमध्ये पोखरिया नगरपालिकाबाट आजदेखि पोखरिया सहित पकाहामैनपुर, कालिकामाई, छिपहरमाई र धोविनी गाउँपालिकाका लागि विवरण दर्ता कार्य औपचारिक रूपमा सुरु भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM