शैलेश गुप्ता, १४ वैशाख, पोखरिया (पर्सा)
पर्सा जिल्लाको पोखरिया नगरपालिकामा सञ्चालित मालपोत कार्यालय पोखरियाले दुई महिनामा ५८ लाख १४ हजार ४ सय ६० रुपैयाँ राजस्व संकलन गरेको मालपोत कार्यालय पोखरियाका सूचना अधिकारी रामरेखा प्रसाद चौरसियाले जानकारी गराएका छन्।चौरसियाका अनुसार सो अवधिमा १४ वटा संशोधन फाइल, ५१ वटा दाखिला खारेज फाइल, ४७ वटा साविक फाइल र ७८ वटा नामसारी फाइल गरी जम्मा १९० वटा फाइलको काम सम्पन्न भएको छ।१९० वटा फाइलको काम सम्पन्न गर्दा मालपोत कार्यालय पोखरियाले ६ लाख ७५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको उनले बताए।
फाल्गुन महिनामा ५५३ वटा फाइलबाट ९ लाख ६३ हजार ९ सय ७८ रुपैयाँ, चैत महिनामा २० लाख ६९ हजार ४ सय ८२ रुपैयाँ, वैशाख महिनाको १४ गतेसम्म १५ लाख ५ सय रुपैयाँ र डिस्ट्रीक बन्धक रोक्का संख्या ४४९ फाइलबाट ६ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए।फागुन १५ गतेदेखि सञ्चालनमा आएको मालपोत कार्यालय पोखरियाले वैशाख १४ गतेसम्म दुई महिनामा ५८ लाख १४ हजार ४ सय ६० रुपैयाँ राजस्व संकलन गरेको र हालसम्म कुनै प्रस्तावित फाइल नरहेको कार्यालय प्रमुख रामजी साहले जानकारी गराए।
सेवाग्राहीले सहज रुपमा सेवा लिइरहेको र सेवा सम्बन्धी कुनै समस्या नरहेको दाबी गर्दै प्रमुख साहले सेवा लिँदा कुनै कठिनाइ महसुस भएमा निर्धक्क भई आफूलाई जानकारी गराउन सेवाग्राहीहरूलाई अनुरोध पनि गरेका छन्।









