२०८२ फाल्गुन १९ गते मंगलवार

स्वास्थ्य केन्द्रमा डाक्टर छैनन्, सेवा लिन बिरामी बाध्यतामा

शैलेश गुप्ता, ०९ बैशाख, पोखरिया / पर्सा

भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्र हाल हेल्थ असिस्टेन्ट (एच.ए.) को भरमा सञ्चालन भइरहेको छ। सो केन्द्रमा एम.बी.बी.एस. डाक्टरको दरबन्दी भए तापनि डा. नवनित रौनियार मन्त्रालयबाट काज सरुवा भई ८ महिना अघि प्रादेशिक अस्पताल कलैया गएका छन्। उनी सरुवा भएपछि भिखमपुर स्वास्थ्य केन्द्रमा विभिन्न सेवा बन्द भएका छन्।

बन्द भएका सेवाहरूमा कुकुरले टोकेको रेविज भ्याक्सिन सेवा, स्वास्थ्य बीमा सेवा लगायत पर्छन्। यसबारे जानकारी दिँदै केन्द्रका निमित्त कार्यालय प्रमुख सञ्जय यादवले भने, “पहिले प्रति महिना १५ देखि २० जना बिरामीले रेविज भ्याक्सिन लिने गर्थे, तर अहिले डाक्टर नहुँदा बिरामीहरूलाई पोखरिया अस्पताल वा नारायणी अस्पताल, वीरगञ्ज पठाउनु पर्ने बाध्यता छ।”

उनका अनुसार भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा धोविनी गाउँपालिका, जगर्नाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका तथा सीमावर्ती भारतको पश्चिम चम्पारण, बिहारको इनर्वाबाट समेत बिरामीहरू प्रसूति तथा रेविज भ्याक्सिन सेवाका लागि आउने गर्दथे। हाल सेवा बन्द हुँदा सेवाग्राहीहरू बञ्चित भएका छन्।

हाल केन्द्रमा एम.बी.बी.एस. एकजना, एच.ए. एकजना, अनमी तीनजना र स्टाफ नर्स एकजना दरबन्दी भए पनि स्टाफ नर्सको दरबन्दी रिक्त छ। यस केन्द्रमा ९८ प्रकारका निःशुल्क औषधी उपलब्ध छन्। यद्यपि, जनशक्ति अभावका कारण एक्सरे, भिडियो एक्सरे, आपतकालीन इमर्जेन्सी सेवा सञ्चालन गर्न नसकेको प्रमुख यादवले जानकारी दिए।

सेवा नचलेका कारण बिरामीहरू पोखरिया अस्पताल तथा वीरगञ्जका विभिन्न अस्पताल धाउन बाध्य छन्। स्थानीयवासीहरूको आरोप छ कि स्थानीय निकायले स्वास्थ्य केन्द्रको सेवा सञ्चालनमा कुनै चासो देखाएको छैन।

“सिंहदरबार गाउँगाउँ पुगेको नाम मात्रको नाराले नागरिकहरू साधारण सेवा समेत पाउनबाट बञ्चित हुनु लाजमर्दो विषय हो,” एक स्थानीयवासीले आक्रोश पोखे।

स्थानीयहरूले छिटो रेविज भ्याक्सिन, एक्सरे, भिडियो एक्सरे, स्वास्थ्य बीमा, इमर्जेन्सी अक्सिमिटर लगायतका सेवा सञ्चालन गर्न जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM