शैलेश गुप्ता । ०७ बैशाख, पोखरिया
पर्साको पोखरिया नगरपालिका–४ मा रहेको पोखरिया तरकारी बजारसँगै सञ्चालनमा रहेका माछा–मासु पसलका सञ्चालकहरूले मासु खरिद तथा विक्रीमा मनपरी गर्न थालेका छन्। पोखरिया नगरपालिकाका उप–प्रमुख रुवी कुमारी ठाकुरको संयोजकत्वमा बनेको अनुगमन समितिले करिब १० महिनादेखि अनुगमन नगरेको कारणले मासु व्यवसायीहरू मनमानी गर्न थालेका हुन्।
दर्ता विना सञ्चालनमा रहेका पसलहरूमा बोर्ड, ब्यानर र मूल्य सूची नराखी खुलेआम मासु विक्री भइरहेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार ती पसलहरूले आधा मासु र आधा पानी मिसाएर विक्री गरिरहेका छन्। खसीको मासु प्रतिकिलो रु १००० लिने तर त्यसमा पानी मिसावट गरिएको पाइएको छ।
ईलाका प्रहरी कार्यालय पोखरिया र नगर प्रहरी कार्यालय नजिकै रहेको बजारमा खसी तथा बाख्राको मासुमा पानी हालेर विक्री वितरण भइरहेको छ। १०–१२ किलो तौल भएको खसी वा बाख्रालाई साइकलको हावा पम्प प्रयोग गरी शरीरमा हावा भरेर, त्यसमा पानी मिसाई १८–२० किलोसम्म तौल बनाएर विक्री गर्ने गरिएको छ।
त्यसैगरी, खसीको मासुसँगै मानव स्वास्थ्यका लागि हानिकारक अंगहरू समेत मिसाएर बेच्ने गरिएको छ, जुन कि सदरमुकाम वीरगंज तथा राजधानी काठमाडौं लगायत नेपालका अन्य शहरहरूमा ‘छाँटिएको मासु’ भनेर चिनिने तर विक्री वितरण गर्न नपाइने हो।
बढी मुनाफा कमाउने उद्देश्यले जनस्वास्थ्यसँग खेलवाड भइरहेको भए पनि सम्बन्धित निकायहरू मौन छन्। दर्ता विना सञ्चालनमा रहेका यस्ता पसलहरूलाई अहिलेसम्म कुनै कारबाही नगरिएको भन्दै स्थानीयहरूले गुनासो गरेका छन्।









