२०८२ फाल्गुन १९ गते मंगलवार

वीरगन्जमा नेविसंघको रक्तदान : समाजसेवाको प्रतीक।

राहुल गुप्ता
वीरगन्ज, पर्सा
समाजका लागि केही गरौं भन्ने भावना जब युवाको मुटुमा बास गर्छ, तब त्यसले सिर्जना गर्छ जीवन परिवर्तन गर्ने कदमहरू। यस्तै एउटा उदाहरण बन्यो, नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवसको अवसरमा वीरगन्जस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा आयोजित रक्तदान कार्यक्रम।

नेविसंघ ठाकुर राम क्याम्पसका पूर्व एकाई सभापति मनोज साहको अगुवाइमा आयोजित उक्त कार्यक्रममा ३० जना उत्साही युवा र एक जना महिला सहभागी भई रगत दान गरे। उनीहरूको यो सानो योगदानले आज कोही बिरामीलाई जीवनको दोस्रो मौका दिएको छ, कोही आमा बन्ने रहरमा सुरक्षित भविष्य दिएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा सांसद पदका उम्मेदवार शम्भू चौहानले रक्तदाता र आयोजकहरूलाई शुभकामना दिंदै भने, “सच्चा समाजसेवा भनेको दुःखमा परेका मानिसका लागि चुपचाप साथ दिने हो। रक्तदानजस्तो कर्मले न त राजनीति हेर्छ, न जात, न धर्म यो त मानवताको महाअभियान हो।”

उक्त अवसरमा विशिष्ट अतिथिको रूपमा उपस्थिति जनाएका पूर्व क्षेत्रीय सभापति विजय कर्णले विद्यार्थीहरूलाई सामाजिक जिम्मेवारीमा सक्रिय हुन आग्रह गरे। नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सह-सचिव रोशन लामीछाने, पूर्व स्ववियु सभापति मनोज यादव, जय नेपाल फाउन्डेशनका पर्सा जिल्ला सभापति मनोहर साह, नेपाली तरुण दलका केन्द्रीय सदस्य संजय चतुरबेदी, स्ववियु सभापति पदका उम्मेदवार राजु गुप्ता तथा विद्यार्थी नेता रुपेश साहले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।

कार्यक्रममा सहभागी युवाहरूले भने यो अनुभवलाई अत्यन्त प्रेरणादायी र आत्मसन्तोष दिने भने। पहिलो पटक रक्तदान गर्ने छात्रा अनु अधिकारीले भनिन्, “पहिले डर लाग्थ्यो, तर आज मलाई लाग्यो । मलेसुद्धा अरूका लागि केही गर्न सक्छु।”

कार्यक्रममा वीरगन्ज रक्तसञ्चार केन्द्रको टोलीले प्राविधिक सहयोग पुर्‍याएको थियो। उनीहरूको उपस्थितिले सम्पूर्ण प्रक्रिया व्यवस्थित र सुरक्षित बनायो।

आजको दिन केवल नेविसंघको स्थापना दिवस मात्र थिएन। यो दिन एउटा सन्देश बोकेको दिन बन्यो युवाहरू जागरूक छन्, उनीहरू नेतृत्व मात्र होइन, सेवा पनि गर्न सक्छन्।

कलेजको प्राङ्गणमा रक्तदानपछि खुसी अनुहार लिएर निस्किएका युवाहरू हेर्दा लाग्थ्यो । संसार अझै पनि आशावादी छ। एउटा सानो सुईको टोकरा, केही थोपा रगत र मनभित्रको विशाल मानवता मिलेर बनाउँछ त्यो शक्ति जसले जीवन दिन सक्छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM