पर्सा, जगरनाथपुर । “जनताको सेवा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित जगरनाथपुर गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षाको औपचारिक शुभारम्भ गरेको छ। गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको उपस्थितिमा सम्पन्न कार्यक्रमले स्थानीय युवाहरूलाई सरकारी सेवाप्रति आकर्षित गर्दै सही मार्गदर्शन तथा तयारीको अवसर दिने उद्देश्य बोकेको छ।

अध्यक्ष यादवले उद्घाटन सत्रमा बोल्दै भने, “हाम्रो पालिकामा रहेका युवाहरूलाई सरकारी सेवाप्रति रुचि बढाउनु र उनीहरूलाई मार्गदर्शनसहित तयारीको प्लेटफर्म उपलब्ध गराउनु नै हाम्रो प्रमुख उद्देश्य हो।”
शिक्षा र अवसरमा समान पहुँच सुनिश्चित गर्दै समृद्ध समाजको आधार निर्माण गर्ने विश्वाससहित संचालनमा ल्याइएको यो कक्षा स्थानीय युवाहरूका लागि निकै उपयोगी हुने बताइएको छ।

कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना दिँदै अध्यक्ष यादवले थपे, “तपाईंहरूको दृढ इच्छाशक्ति र निरन्तर अभ्यासले तपाईंहरूलाई निश्चित रूपमा लक्ष्यमा पुर्याउनेछ।”









