२०८२ फाल्गुन १९ गते मंगलवार

मकवानपुरमा ठूलो लागुऔषध गिरोह पर्दाफास: ५२ किलो गाँजासहित एक पक्राउ

हेटौंडा वैशाख ५ – मकवानपुर प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बिहीबार बिहान करिब ९ः३० बजेको समयमा मनहरी गाउँपालिका–६ नयाँवस्तीस्थित ब्रमादेवी सामुदायिक वन क्षेत्रबाट ५० वर्षीय बाबुराम मुक्तानलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा मुक्तानलाई प्रहरीले उक्त वन क्षेत्रभित्र पैदल हिँडिरहेको अवस्थामा फेला पारेको थियो। उनी मनहरी गाउँपालिका–५ रुपाचुरीबाट नयाँवस्तीतर्फ ५२ किलो गाँजा बोकेर ल्याइरहेका थिए। प्रहरीका अनुसार, गाँजा उनी आफैं भारीमा बोकी ल्याउँदै थिए।

पक्राउ परेका मुक्तान मकवानपुरकै सुनाचुरीका स्थायी बासिन्दा रहेको खुलेको छ। उनलाई लागुऔषध सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरिसकिएको र मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध कारोबारविरुद्ध सशक्त निगरानी तथा सूचना संकलनलाई तीव्र बनाएको जनाएको छ। गाँजाजस्ता अवैध पदार्थको ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कानूनको दायरामा ल्याउन प्रहरीले यस्तो अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM