पूर्व विद्यार्थी समाजको आयोजनामा नयाँ वर्ष २०८२ को शुभ उपलक्ष्यमा सरस्वती माध्यमिक विद्यालयमा नयाँ बालबालिकाको भर्ना र गुणस्तरीय शिक्षाका लागि सर्वपक्षीय प्रतिबद्धता सहित शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक विद्यालयको गुणस्तर दिनप्रतिदिन खस्किंदै गएको कारण संस्थागत विद्यालयको संख्या बढ्दो छ। सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात नमिल्नु, दरबन्दीअनुसार शिक्षकको व्यवस्थापन हुन नसक्नु, विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरूको रचनात्मक भूमिकामा कमी, शिक्षकहरू आफ्नो पेशाप्रति इमान्दार नहुनु, साथै विद्यार्थीहरूमा उदण्डता वृद्धि भई अनुशासनमा कमी आउनु र दुर्व्यसनमा फस्ने जस्ता समस्या रहेका छन् भन्ने विषयमा पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले आफ्ना धारणा व्यक्त गरेका थिए।
विद्यालयमा रहेका समस्याहरूलाई अभिभावक, शिक्षक, जनप्रतिनिधि लगायत शिक्षा प्रेमीहरूको सामूहिक प्रयासबाट समाधान गर्न सकिने पूर्व विद्यार्थी समाजका सहभागीहरूले बताएका थिए।
सरस्वती माध्यमिक विद्यालय, मलाहीटोलको शैक्षिक अवस्थालाई सुधार गर्न सबै पक्ष मिलेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
सो कार्यक्रममा गढीमाई नगरपालिका वडा नं. ८ र ९ का वर्तमान वडा अध्यक्ष र सदस्यहरू, विद्यालयका पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षा प्रेमी तथा पूर्व विद्यार्थी समाजका इन्द्रजीत सहनी, डा. रामजी राम, रवि सहनी, शिवचन्द्र प्रसाद साह, मो. अमरुल, विश्वनन्दन सहनी, विवेक सहनी, देवानन्द सहनी लगायत ५३ जनाको सक्रिय सहभागिता रहेको थियो।









