२०८२ फाल्गुन १९ गते मंगलवार

बीरगंजको शोभा यात्रामा हिंसात्मक झडप : कर्फ्यूको समयमा दूध लिएर फर्कंदै गरेका युवक प्रहरीको गोली लागी घाइते

शैलेश गुप्ता

बीरगंज, पर्सा । हनुमान जयन्तीको अवसरमा बीरगंजमा आयोजित शोभा यात्राको क्रममा मुस्लिम र हिन्दू समुदायबीच उत्पन्न तनावले हिंसात्मक रुप लिँदा स्थिति अत्यन्तै संवेदनशील बनेको छ। स्थिति नियन्त्रण गर्न प्रशासनले घटनास्थल वरपरका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

पर्सा प्रशासनले जनाएअनुसार शनिबार बेलुका भएको झडपपछि अवस्था नियन्त्रण बाहिर जान नदिन बीरगंज महानगरपालिका अन्तर्गतका केही क्षेत्रहरूमा भोली बिहान १२ बजे (आईतबार मध्यान्ह) सम्मका लागि कर्फ्यू आदेश लागू गरिएको हो।

कर्फ्यूको समयमा बीरगंज इनरवा निवासी ३२ वर्षीय हरिन्द्र राउत अहीर घरेलु प्रयोजनका लागि दूध लिएर साइकलमा घर फर्कंदै गर्दा प्रहरीको गोली लागी गम्भीर घाइते भएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार, हरिन्द्र कुनै प्रदर्शनमा संलग्न थिएनन् र आफ्नो घर फर्कंदै गर्दा उनलाई लक्षित नगरिएको अवस्थामा गोली लागेको थियो।

गोली लागेपछि उनलाई तत्काल नारायणी अस्पताल, बीरगंजमा पुर्‍याइएको छ उनको उपचार भईरहेको छ। अस्पताल स्रोतले जनाएअनुसार हरिन्द्रको अवस्था खतरामुक्त भए पनि गम्भीर रहेको छ।

स्थानीयवासीहरूले सुरक्षा निकायप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले निर्दोष सर्वसाधारणलाई गोली हान्नु अमानवीय भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को भनाइ अनुसार स्थिति अत्यन्तै तनावपूर्ण बनेपछि सुरक्षाकर्मीलाई गोली चलाउनुपरेको दाबी गरिएको छ। उनले नागरिकलाई संयम अपनाउन र कर्फ्यूको पालना गर्न आग्रह गरेका छन्।

यस घटनाले समग्र बीरगंज क्षेत्रलाई आक्रान्त बनाएको छ। धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिने दिनमा हिंसा र द्वन्द्व हुनु दुर्भाग्यपूर्ण भएको स्थानीय बुद्धिजीवीहरू बताउँछन्।

बीरगंजका संवेदनशील क्षेत्रमा भारी मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। प्रशासनले शान्ति सुरक्षालाई ध्यानमा राख्दै कर्फ्यूको कडाईका साथ कार्यान्वयन गरिने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM