२०८२ फाल्गुन १९ गते मंगलवार

शिक्षकको चिच्याइरहेको आवाज सुनिदैन भने सरकार बहिरो प्रमाणित हुनेछ : राष्ट्रिय समता पार्टीको चेतावनी

काठमाडौं शिक्षालाई राष्ट्र निर्माणको मेरुदण्ड भन्ने सत्ता र सत्ताधारी दलहरू आफैंले शिक्षकमाथि गरिने अपमान र अवहेलनाको आँखा चिम्लिएर हेरिरहनु गम्भीर अपराध हो — राष्ट्रिय समता पार्टी नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा कडा शब्दमा चेतावनी दिइएको छ।

पार्टीका महासचिव अभिषेक तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “देशको भविष्य र समृद्धिको मेरुदण्ड शिक्षा नै हो। शिक्षामा देखिएको विकृति, अस्तव्यवस्था र अन्योलता अब सह्य छैन। सरकार, होस गर!”

शिक्षकको चीत्कार, सडकमा पसिना र सरकारको मौनता

काठमाडौंको सडकमा आफ्ना माग बोकेर उभिएका शिक्षकहरू विगत केही दिनदेखि लगातार आन्दोलनरत छन्। उनीहरूको माग न्यायोचित मात्र होइन, दशकौंदेखिको बेवास्ताको परिणाम हो। तर सरकार सुनिने कान थुनेर बसिरहेको छ। विज्ञप्तिमा उल्लेख छ, “लामो समयदेखि शिक्षक गतिविधि अवरुद्ध हुनु अत्यन्तै चिन्ताको विषय हो, सरकार लाज मान।”

समता पार्टीको आरोप : शिक्षालाई राजनीतिको अखडा बनाइँदैछ

विज्ञप्तिमा शिक्षा क्षेत्रलाई ‘राजनीतिक प्रयोगशाला’ बनाइएको भन्दै आक्रोश पोखिएको छ। पार्टीले स्पष्ट शब्दमा भनेको छ, “शिक्षकको माग सम्बोधन नगर्ने, शिक्षालाई नेतृत्वविहीन राख्ने, अनि शिक्षाको गुणस्तरको कुरा गर्ने सरकार आफैं हास्यास्पद छ।”

वार्ता नगरे गम्भीर परिणाम

राष्ट्रिय समता पार्टीले तत्काल आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न र उनीहरूको न्यायोचित माग सम्बोधन गर्न सरकारलाई आग्रह मात्र होइन, चेतावनी पनि दिएको छ। “यदि सरकारले अझै चुप बस्ने हो भने जनआक्रोश कुन मोडमा पुग्छ, सरकार आफैं तयार रहोस्।”

“समस्या समाधान नगरिए शिक्षालय बन्द हुने मात्र होइन, भावी पुस्ताको भविष्य अन्धकारमा हराउनेछ। त्यसको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकारको हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM