रौतहट, चैत १६ – नेपाल पत्रकार महासंघ रौतहटले काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ।
महासंघले पत्रकारको हत्या, सञ्चारगृहमाथि तोडफोड तथा पत्रकारहरूमाथि आक्रमणको घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लंघनको रूपमा लिँदै दोषीमाथि कारबाहीको माग गरेको छ।
घटना विवरण:
- पत्रकार सुरेश रजक भिडियो खिच्ने क्रममा आगोमा परेर ज्यान गुमाएका।
- अन्नपूर्ण पोस्ट दैनिकको भवनमा आगजनी तथा तोडफोड।
- कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा प्रहार।
- हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड।
- पत्रकार दिनेश गौतममाथि आक्रमण हुँदा खुट्टा भाँचिएको।
- फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको।
नेपाल पत्रकार महासंघले घटनाप्रति गम्भीर प्रतिक्रिया जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष निम्न मागहरू राखेको छः
- ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी दोषीमाथि फौजदारी अभियोग दर्ता गरी कडा कारबाही गर्न।
- मृतक पत्रकारका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन।
- सञ्चारमाध्यम तथा सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा उभ्याउन।
- क्षति पुगेका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउन।
- घाइते पत्रकारहरूको उपचारको उचित व्यवस्था मिलाउन।
- विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्न दोषीहरूलाई कानुनी कारबाही गर्न।
- भविष्यमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूको सुरक्षाको भरपर्दो प्रबन्ध गर्न।
महासंघले एक साताभित्र माग सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेको छ। माग पूरा नभए सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।









