पर्सा, धोबिनी। मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद-उल-फित्र पर्सा जिल्लाको धोबिनी गाउँपालिकामा उल्लासपूर्वक मनाइएको छ। एक महिनासम्म रमजानको पवित्र महिनामा निर्जल उपवास (रोजा) बसेका स्थानीय इस्लाम धर्मावलम्बीहरूले आज चैत १८ गते भव्य रूपमा इद मनाएका छन्।
बिहानैदेखि मुस्लिम समुदायका व्यक्तिहरू स्नान गरी नयाँ पहिरनमा सजिएर मस्जिद तथा इदगाहमा भेला भए। सामूहिक नमाज अदा गरेपछि एकआपसमा अङ्गालो मार्दै शुभकामना आदानप्रदान गरियो। धोबिनीका विभिन्न स्थानहरू झिलिमिली बत्ती र स्वागत द्वारले सिंगारिएको थियो।
इद पर्वको पूर्वसन्ध्यामा सिकटा बजारमा किनमेल गर्नेहरूको घुइँचो लागेको थियो। विशेष गरी नयाँ लुगा, मिठाइ, उपहार तथा अन्य आवश्यक सामग्री खरिद गर्न स्थानीय व्यापारीहरूलाई भ्याइनभ्याइ भएको थियो।
इद-उल-फित्रको अवसरमा घर-घरमा विशेष परिकारहरू तयार पारिएका छन्। परम्परागत रूपमा सेवइँ, बिरयानी, मटन करी, खजूर तथा विभिन्न मिठाइहरू बनाइएका छन्। परिवार तथा आफन्तहरूसँग मिलेर भोजन गर्ने, अतिथिहरूलाई सत्कार गर्ने परम्परा रहेको छ।
इदको अवसरमा प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका छन्। धोबिनी गाउँपालिकाका जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले मुस्लिम समुदायलाई इद-उल-फित्रको शुभकामना दिएका छन्।
धोबिनीका स्थानीय बासिन्दाले इद पर्वलाई धार्मिक सहिष्णुता, एकता तथा प्रेमको प्रतिकका रूपमा मनाएका छन्। यस पर्वले समाजमा भाइचारा, मेलमिलाप तथा आपसी सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यस क्षेत्रका मुस्लिम समुदायका लागि भारतको सिकटा बजार महत्वपूर्ण व्यापारिक केन्द्र रहँदै आएको छ। नेपाल-भारत सीमावर्ती क्षेत्र नजिकै अवस्थित यस बजारमा दैनिक रूपमा दुवै देशका व्यापारी तथा उपभोक्ताहरूको चहलपहल देख्न सकिन्छ। इद पर्वको पूर्वसन्ध्यामा यहाँ किनमेल गर्ने नेपाली उपभोक्ताहरूको उल्लेखनीय भीड देखिएको थियो।









