अगरनाथपुर (पर्सा): पवित्र रमजान महिनाको अवसरमा अगरनाथपुर गाउँपालिका वडा नम्बर ५, मसिहानीमा मुस्लिम समुदायका दाजुभाइहरूको लागि सामूहिक इफ्तार कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम अगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव द्वारा आयोजित गरिएको थियो।
इफ्तार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले रमजान महिनाको महत्वबारे चर्चा गर्दै धार्मिक सहिष्णुता, आपसी भाइचारा र एकताका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गरे। उनले भने, “रमजान आत्मसंयम, दान र समाजसेवाको सन्देश दिन्छ, जसले हाम्रो समाजमा सकारात्मक परिवर्तन ल्याउँछ।”
कार्यक्रममा स्थानीय मुस्लिम समुदायका साथै अन्य धर्मावलम्बीहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले समाजमा आपसी मेलमिलाप र सद्भाव बढाउने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा स्थानीय युवा, समाजसेवी, धार्मिक अगुवाहरू तथा समुदायका बृद्ध–जेष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले इफ्तारका लागि गरिएको व्यवस्थापनप्रति अध्यक्ष यादवलाई धन्यवाद दिएका थिए।
सामाजिक एकता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ।









