शैलेश गुप्ता
१० चैत्र, पोखरिया
पर्साको पोखरिया स्थित मालपोत कार्यालयले आजदेखि भू–सेवा संचालनका लागि ११ जना कानुन व्यवसायीलाई अनुमति तथा प्रमाण पत्र वितरण गरेको छ।
मालपोत कार्यालय पोखरियाले आयोजना गरेको कार्यक्रम कार्यालय प्राङ्गणमा सम्पन्न भएको थियो। मालपोत कार्यालय पोखरियाले भू–सेवा संचालन सम्बन्धी कानुन व्यवसायीलाई अनुमति पत्र प्रदान गर्नका लागि फाल्गुन २३ गते सूचना प्रकाशन गरेको थियो। सो सूचनाको म्याद चैत्र ८ गते समाप्त भएपछि आज ११ जना कानुन व्यवसायीलाई अनुमति तथा प्रमाण पत्र वितरण गरिएको मालपोत कार्यालय पोखरियाका सूचना अधिकारी रामरेखा प्रसाद चौरसियाले जानकारी गराए।

सोही दिन भू–सेवा प्रविधिबाट ८ जना सेवाग्राहीले सेवा लिएको सूचना अधिकारी चौरसियाले बताए।
अनुमति पत्र तथा प्रमाण पत्र लिनेहरूमा आर.बी. साह, बलिराम साह, सुरेन्द्र साह कानु, जन्मनजय महतो, रामानन्द यादव, रुकेश गोढ, विराज गिरी, राजेश कानु, कमलेश पटेल, जगदिश राउत र मनिष साह लगायतका व्यक्तिहरू रहेका छन्।
मालपोत कार्यालय पोखरियाका कार्यालय प्रमुख रामजी प्रसाद साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाकी नगर उपप्रमुख रुवी कुमारी ठाकुर, वडा अध्यक्ष नौसाद आलम, नेकपा (एमाले) पोखरिया नगर कमिटी अध्यक्ष विन्ध्याचल ठाकुर, शिक्षक पारस ठाकुर, समाजसेवी मनोज कुर्मी लगायत कार्यालयका कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।









