रबिन्द्र यादव / पश्चिम नवलपरासी
१८ फागुन
प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएको घरदैलो अभियानको आज अन्तिम दिन पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डे टोल-टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय रहनु भएको छ। औपचारिक प्रचारप्रसारको समय समाप्त हुनै लाग्दा उहाँले कार्यकर्ता तथा समर्थकसहित व्यापक रूपमा घरदैलो अभियानलाई तीव्र बनाउनु भएको हो।
घरदैलो अभियानका क्रममा उम्मेदवार पाण्डेले मतदाताको घर-घरमा पुगेर आफू र पार्टीलाई मतदान गर्न आग्रह गर्नुका साथै स्थानीयका गुनासा, सुझाव र अपेक्षा सुन्नु भएको छ। उहाँले क्षेत्रको समग्र विकास, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता आफ्नो स्पष्ट प्रतिबद्धता रहेको बताउनुभयो।
भेटघाटका क्रममा पाण्डेले सुकुम्बासी,भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या समाधानमा पहल गर्ने, युवामैत्री तथा परिणाममुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो। नवलपरासीको विकासका लागि स्पष्ट योजना र इमानदार प्रतिबद्धतासहित आफू परिवर्तनको संवाहकका रूपमा अघि बढेको उहाँको भनाइ छ।
निर्वाचन आचारसंहिताअनुसार आज राति १२ बजेपछि निर्वाचन प्रचार-प्रसारसँग सम्बन्धित कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा-सम्मेलन, कार्यशाला तथा गोष्ठी गर्न पाइँदैन। मध्यरातिपछि सबै प्रचारात्मक गतिविधि पूर्ण रूपमा निषेध हुनेछन्।








