वीरगन्ज, २३ माघ — नेकपा एमाले वीरगन्ज महानगर कमिटीको आयोजनामा केन्द्रिय उपमहासचिव तथा युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यमा भव्य पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जसपा लगायत विभिन्न दल परित्याग गरी प्रभावशाली स्थानीय नेताहरू एमालेमा समाहित भएपछि वीरगन्जको राजनीतिक माहोल थप तातिएको छ।
कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति तथा जसपाका युवा नेता मुकेश द्विवेदी, वीरगन्ज–९ का पूर्व वडा अध्यक्ष मनोज कलवार, वडा नं. ३ का पूर्व वडा सदस्य तथा न्यायिक समितिका पूर्व सदस्य तुफैल अख्तरलगायत दर्जनौँ नेता तथा कार्यकर्ताले एमाले प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई केन्द्रिय उपमहासचिव भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नेकपा एमाले जनताको भरोसाको पार्टी भएको उल्लेख गर्दै विकास, सुशासन र स्थिरताका लागि एमाले नै प्रमुख राजनीतिक शक्ति भएको दाबी गरे। उनले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र जनसमर्थन बढाउने अभियानलाई थप सशक्त बनाइने बताए।
एमाले वीरगन्ज महानगर अध्यक्ष लियाकत अलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगन्जका पूर्वमेयर तथा एमाले केन्द्रीय सदस्य विजय सरावगी, पर्सा–२ की एमाले उम्मेदवार रिमा यादवलगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी नेताहरूले वीरगन्जको विकास, रोजगारी, पूर्वाधार र जनसेवाका मुद्दालाई केन्द्रमा राख्दै एमालेलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।









