पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट पिपुल फर्स्ट पार्टी का उम्मेदवार फिरोज अन्सारी ले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै अन्सारीले दशकौँदेखि देशको सत्ता र स्रोतमा रजाइँ गर्दै आएका ‘भ्रष्ट पुराना दल’ र पछिल्लो समय नयाँको आवरणमा सस्तो लोकप्रियता बटुल्ने ‘पपुलिष्ट ठग’ प्रवृत्ति विरुद्ध अब नागरिककै नेतृत्व आवश्यक भएको बताएका छन्।
उनले भ्रष्ट प्रवृत्तिले देशको सम्पत्ति लुटेको र पपुलिष्ट ठगीले जनताको आशामाथि खेलवाड गरेको आरोप लगाउँदै अब परिवर्तनको जिम्मेवारी सचेत र जागरूक नागरिकको हातमा आएको स्पष्ट पारे।
“भ्रष्टहरूले देश लुटे, ठगहरूले जनताको आशा लुटे,” अन्सारीले भने, “अब यो अवस्थाको अन्त्य नागरिक स्वयंले गर्नुपर्छ।”
आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षा मात्र नभई नागरिकको स्वाभिमान र समृद्धिको लडाइँको सुरुवात का रूपमा व्याख्या गर्दै उनले भने,
“यो मेरो व्यक्तिगत उम्मेदवारी होइन, यो नागरिकको सम्मान, अधिकार र समृद्ध भविष्यका लागि सुरू भएको संघर्ष हो।”
पिपुल फर्स्ट पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका अन्सारीले स्वच्छ राजनीति, नागरिकको सम्मान र समृद्ध भविष्य निर्माणका लागि जनताको साथ र समर्थन अपरिहार्य रहेको बताए। उनले नागरिकलाई आफ्नो अधिकार र भविष्यका लागि एकजुट हुन आह्वान गर्दै ‘जय नागरिक!’ को नारा समेत अघि सारेका छन्।









