मेवालाल यादव
३०० बढी विभिन्न जातीय समुदायका नागरिक पार्टी प्रवेश, दक्षिणी सुनसरीमा दलको प्रभाव विस्तार हुने संकेत
इनरुवा । ३ माघ ।
“सबैको सम्मान–सबैको पहिचान : राष्ट्रिय स्वाधीनता–राष्ट्र निर्माण” नाराको उद्घोषसहित राष्ट्र निर्माण दल नेपाल, सुनसरीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम मिति २०८२ साल माघ ३ गते इनरुवामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम दलका सुनसरी जिल्ला अध्यक्ष साउकत अलीको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रशिक्षण कार्यक्रममा ७० प्रतिशतभन्दा बढी युवा सहभागितासहित तीन सयबढी विभिन्न जातीय समुदायका नागरिक राष्ट्र निर्माण दलमा प्रवेश गरेका छन्। यस पार्टी प्रवेशसँगै सुनसरीका दक्षिणवर्ती पालिकाहरूमा दलको संगठनात्मक उपस्थिति थप सुदृढ हुने आँकलन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र निर्माण दल नेपालका अध्यक्ष शमीम मियाँ अन्सारीले देशको विद्यमान राजनीतिक संकट समाधानका लागि वैकल्पिक, समावेशी र राष्ट्रनिर्माणमुखी राजनीतिक धार आवश्यक रहेको बताए। उनले सबै समुदायको सम्मान, पहिचान र सहभागिता सुनिश्चित नगरी समृद्ध नेपाल निर्माण असम्भव रहेको उल्लेख गरे।
प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक तथा दलका महासचिव एवं पूर्वमन्त्री मोहम्मद जाकिर हुसैनले राष्ट्र निर्माण दलको राजनीतिक दर्शन, नीतिगत आधार र कार्यक्रमबारे विस्तृत प्रशिक्षण दिए। उनले दलको राजनीतिक विचारका प्रमुख आधारहरू यस प्रकार रहेको स्पष्ट पारेः
राष्ट्रिय मेलमिलाप, सबैको सम्मान–सबैको पहिचान, राष्ट्रिय स्वाधीनता, बहुलवाद, समावेशी लोकतन्त्र, गणतन्त्र, खर्च कटौतीसहितको संघीयता मोडेल (६० प्रतिशत खर्च कटौती, ४० प्रतिशत सांसद सिट खारेज), पूर्ण समानुपातिक उम्मेदवारीसहितकाे प्रत्यक्ष निर्वाचन प्रणाली, संसदहरूमा सबै पहिचानका क्लष्टरलाई समेट्ने रोटेशन प्रणाली, पालिका प्रमुख तथा अध्यक्षमा ५० प्रतिशत महिला उम्मेदवारी अनिवार्य, नेपाली मौलिकतामा आधारित समाजवाद, प्रधानमन्त्री दुईपटक र मन्त्री चार पटकभन्दा बढी नबन्ने व्यवस्था, पूर्ण धार्मिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षता, सबै धर्मको राष्ट्रिय पहिचान, धार्मिक सहिष्णुता, सुशासन र भ्रष्टाचार नियन्त्रण, छिटो–छरितो प्रशासन, सामाजिक न्याय र ऐतिहासिक क्षतिपूर्ति, शिक्षा–स्वास्थ्य–रोजगारी, संविधानको पूर्ण कार्यान्वयन, संघीयता सुदृढीकरण र स्थानीय सशक्तीकरण, सन्तुलित परराष्ट्र नीति, राष्ट्र निर्माणमुखी आर्थिक नीति तथा श्रम संस्कृतिको विकास।
हुसैनले दलको नारा नै पार्टीको राजनीतिक विचारको सार रहेको उल्लेख गर्दै राष्ट्र निर्माण दल नेपाल देशलाई नयाँ दिशा दिन सक्ने वैकल्पिक शक्ति भएको दाबी गरे।
कार्यक्रममा दलका सचिव गुरुदेव राम र कोशी प्रदेश इञ्चार्ज जफर अहमद जमालीले पनि आ–आफ्ना धारणा राख्दै संगठन विस्तार, जनसरोकारका मुद्दा र आगामी राजनीतिक रणनीतिबारे स्पष्ट पारे।
कार्यक्रममा दलका केन्द्रीय सदस्य रोजिना खातुन, कविता आले मगर, महमद हारून, किरण ठाकुर, तजम्मुल मन्सुरी, विनोद यादव, दिपेन्द्र चौधरी, इसराफिल हुसैन, इनरुवा नगर सचिव जहाँगीर मन्सुरी, देवानगञ्ज पालिका समिति अध्यक्ष हारिस अन्सारी, जेन–जी नेता आदित्य आचार्य र राधा कुमारी साहले सम्बोधन गरेका थिए।
प्रशिक्षण कार्यक्रमले सुनसरीमा राष्ट्र निर्माण दल नेपालको संगठनात्मक आधार बलियो बनाउनुका साथै वैकल्पिक राजनीतिक शक्तिका रूपमा दलको उपस्थितिलाई थप स्थापित गरेको सहभागीहरूको निष्कर्ष रहेको थियो।









