२०८२ फाल्गुन १९ गते मंगलवार

भारतीय महावाणिज्य दूतावास, वीरगञ्जद्वारा विश्व हिन्दी दिवस २०२६ भव्य रूपमा सम्पन्न

सैलेश गुप्ता 

वीरगञ्ज २७ पौष

भारतीय महावाणिज्य दूतावास, वीरगञ्जको आयोजनामा विश्व हिन्दी दिवस २०२६ को अवसरमा आइतबार एक भव्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूका लागि भाषण तथा कविता प्रतियोगिताको आयोजना गरिएको थियो भने शारदा कला केन्द्र, रक्सौलद्वारा आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्य दूत देवी सहाय मीना ले हिन्दी भाषाको विश्वव्यापी महत्व तथा भारत–नेपालबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन यसको भूमिकामाथि प्रकाश पार्नुभयो। उहाँले विश्व हिन्दी दिवसको अवसरमा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सन्देश पनि वाचन गर्नुभयो, जसमा हिन्दी भाषा र संस्कृतिको वैश्विक प्रवर्द्धनप्रति भारत सरकारको प्रतिबद्धता उल्लेख गरिएको थियो।

 

कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थीहरूले भारत र नेपालको युगौँदेखि कायम धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धको महत्व विषयमा आयोजित भाषण तथा स्वरचित कविता प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाएका थिए। उनीहरूको भाषिक दक्षता र रचनात्मक प्रस्तुतिले उपस्थित अतिथिहरूलाई प्रभावित बनाएको थियो।

 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता विद्यार्थीहरूलाई महावाणिज्य दूत देवी सहाय मीनाले पुरस्कार प्रदान गर्दै उनीहरूको प्रयासको प्रशंसा गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा हिन्दी भाषा र संस्कृतिप्रति रुचि बढाउने विश्वास व्यक्त गर्नुभयो।

 

कार्यक्रममा शैक्षिक संस्था, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधि, भारत–नेपाल मैत्री संघका पदाधिकारीहरू तथा हिन्दी प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सफल आयोजनासँगै भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले यस क्षेत्रमा हिन्दी भाषा र संस्कृतिको प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM