मेवालाल यादव
रौतहट — राष्ट्रिय एकता दिवसको अवसरमा प्रादेशिक अस्पताल गौरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रादेशिक अस्पताल गौर व्यवस्थापन समितिका अध्यक्ष अवधेश प्रसाद यादवको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको शुभारम्भ अध्यक्ष यादवले स्वयं रक्तदान गरेर गर्नुभएको थियो। उक्त अवसरमा बोल्दै उहाँले “सेवा नै धर्म हो, रक्तदान नै जीवन हो” भन्दै मानव सेवामा सबैलाई अग्रसर हुन आग्रह गर्नुभयो। रक्तदानजस्तो पुण्य कार्यले समाजमा मानवीय भावना र आपसी सद्भाव बलियो हुने उहाँको भनाइ थियो।
रक्तदान कार्यक्रममा प्रादेशिक अस्पताल गौर व्यवस्थापन समितिका सदस्य ओमप्रकाश साह मधेसीया, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मुरारी ठाकुर, युवा नेता मुना यादवलगायत चिकित्सक, नर्स, पत्रकार, समाजसेवी तथा विभिन्न राजनीतिक दलका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले उत्साहपूर्वक रक्तदान गर्दै कार्यक्रमलाई सफल बनाएका थिए।
आयोजकका अनुसार यस्ता सामाजिक तथा मानवीय कार्यक्रमले राष्ट्रिय एकता र सामाजिक उत्तरदायित्वको भावना सुदृढ गर्ने विश्वास व्यक्त गरिएको अध्यक्ष यादवले बताउनुभयो ।









