रबिन्द्र यादव १६ पुस
पश्चिम नवलपरासी – केही दिनअघिको सुनवल नगरपालिकाको बडेरा स्थित उखु लोड गरिएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गुमेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय भुमही पश्चिम नवलपरासीले तत्काल जनचेतनामूलक अभियान सुरु गरेको छ ।
ट्राफिक प्रहरी बेलाटारीका टोली उखु विक्री हुने प्रमुख बेलाटारी,कुडिया,नरसही,पिपरपाती,गुठी परसौनी,बैदौली,खरेटवा, खैरहनी लगायतका सेन्टरहरूमा पुगेर चालक, सह चालक, व्यवसायी
स्थानीयवासीहरूलाई सचेत गराइरहेका छन् । टोलीले ओभरलोड नगर्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित गति अपनाउन जोड दिएका छन्। दुर्घटनाले परिवार र समुदायमा पारेको पीडा र क्षति सम्झँदै, ट्राफिक प्रहरीले जनतालाई सडक सुरक्षा प्रति सचेत गराउने उद्देश्य राखेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय भुमहीका प्रमुख माधव प्रसाद चौधरीले भने, “हामीले भर्खरै ठूलो मानवीय क्षति भोगेका छौं। यस अभियानको मुख्य उद्देश्य अरूलाई यस्तै दुख भोग्न नपरोस् भन्ने हो। सडक सुरक्षा केवल नियमको पालन मात्र होइन, जीवनको सुरक्षा पनि हो।”
स्थानीयवासीहरूले प्रहरीको पहललाई सकारात्मक प्रतिक्रिया दिएका छन्। अभियान आगामी दिनहरूमा अन्य उखु केन्द्र र बजार क्षेत्रमा पनि जारी रहने छ। ट्राफिक प्रहरीले नियमित निरीक्षण र नियम पालना कडाइ गर्दै समुदायलाई सडक सुरक्षा अभ्यासमा सहभागी गराउने योजना बनाएको छ । प्रतापपुर,सुस्ता र सरावल गाउँपालिका उखुको मुख्य बालीको रुपमा चिनिन्छ ।









