अशोक यादब
रौतहट । संघीय सरकारले करदाता सेवा कार्यालय गौर खारेज गरी सिमरा सार्ने निर्णय गरेको विरोधमा रौतहट उद्योग वाणिज्य संघको आयोजनामा धर्ना कार्यक्रम सम्पन्न भएको छ।
उक्त धर्ना कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा मधेश प्रदेश सरकारका पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले सहभागिता जनाउँदै ऐक्यबद्धता तथा समर्थन व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै नेता यादवले करदाता सेवा कार्यालय गौरबाट सिमरा सार्ने निर्णयले रौतहटका सेवाग्राहीहरूलाई गम्भीर दुःख, असुविधा र अतिरिक्त आर्थिक भार पर्ने बताउनुभयो।
उहाँले सेवाग्राहीलाई प्रत्यक्ष असर पार्ने यस्ता निर्णयहरू कदापि स्वीकार्य नहुने स्पष्ट पार्दै गौरबाट सिमरा सार्ने कार्यले समय, यातायात खर्च तथा अन्य आर्थिक बोझ बढाउने र यसले सेवाग्राहीमाथि शोषण झल्काउने धारणा व्यक्त गर्नुभयो। त्यसैले संघीय सरकारको उक्त निर्णयको घोर विरोध आवश्यक रहेको उहाँको भनाइ थियो।
धर्ना कार्यक्रममा उद्योगी, व्यापारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले करदाता सेवा कार्यालय गौरमै कायम राख्न सरकारसँग माग गर्दै आफ्ना आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।









