मेवालाल यादव
महोत्तरी । एबिलिस फाउन्डेसनका राष्ट्रिय संयोजक डा. वीरेन्द्रराज पोखरेललाई महोत्तरीमा भव्य स्वागत गरिएको छ। एबिलिस फाउन्डेसनको अनुदान सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका संघ–संस्थाद्वारा सञ्चालित परियोजनाअन्तर्गतका क्रियाकलापहरूको अनुगमनका क्रममा महोत्तरी बहिरा संघले डा. पोखरेललाई स्वागत गरेको हो।
स्वागत कार्यक्रममा महोत्तरी बहिरा संघकी अध्यक्ष सुधा गौतम, कार्यसमितिका सदस्यहरू, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य सुनिल कुमार यादव, तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेस प्रदेशका सहसचिव राजेश शाहलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष सुधा गौतमले संस्थाले सञ्चालन गरिरहेका गतिविधि तथा एबिलिस फाउन्डेसनको सहयोगमा हासिल गरिएका उपलब्धिहरूको विस्तृत प्रस्तुतिकरण गर्नुभएको थियो। परियोजनाअन्तर्गत बहिरा व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कागजको प्याकेट बनाउने तालिम, ब्यूटीसियन तालिम, सांकेतिक भाषा तालिम तथा साइकल मर्मत तालिम सञ्चालन गरिएको जानकारी दिइएको छ। यी तालिममार्फत करिब ५० जना बहिरा व्यक्तिहरूको आय–आर्जन क्षमतामा सकारात्मक योगदान पुगेको जनाइएको छ।
एबिलिस फाउन्डेसनले मधेस प्रदेशसहित सुदूरपश्चिम र कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थामार्फत उनीहरूको जीवनस्तर उकास्ने, मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने, साथै अपाङ्गता भएका महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रवर्द्धन गर्ने कार्यमा निरन्तर सहयोग गर्दै आएको छ।
हाल एबिलिस फाउन्डेसनबाट अनुदान प्राप्त संस्थाहरूको प्रतिवेदन लेखनमा क्षमता अभिवृद्धि गर्ने प्रयोजनका लागि डा. पोखरेल मधेस प्रदेशमा रहनुभएको जनाइएको छ।









