पर्सा। आज धोबिनि गाउँपालिकाले गाउँपालिका अध्यक्ष श्री मदन प्रसाद चौहानको अध्यक्षतामा शिक्षक सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पालिकाभरिका प्रधानाध्यापकहरूलाई सम्मान गरिनुका साथै शिक्षकहरूलाई समान स्वरूप ब्याग वितरण गरिएको थियो।
उक्त अवसरमा श्री अजिज मियाँ माध्यमिक विद्यालय, धोबिनि का प्रधानाध्यापक श्री जितेन्द्र राम लाई २५,००० रुपैयाँ नगदसहित उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरी सम्मान गरिएको छ। प्रधानाध्यापक राम यसअघि २०८२ सालको असार महिनामा मधेस प्रदेश सरकारद्वारा “एक पालिका एक उत्कृष्ट शिक्षक पुरस्कार” तथा प्रजापति प्रसाई (पी.पी. प्रसाई फाउन्डेसन) पुरस्कार बाट समेत सम्मानित भइसकेका छन्।
विद्यालयप्रतिको लगनशीलता, शिक्षण कार्यप्रतिको कर्मठता र समर्पणको कदर गर्दै गाउँपालिकाले उहाँलाई २५,००० रुपैयाँ नगद तथा दोसल्ला ओढाई सम्मान गरेको हो। सम्मानस्वरूप प्राप्त उक्त रकम प्रधानाध्यापक श्री जितेन्द्र रामले श्री अजिज मियाँ माध्यमिक विद्यालयलाई दान गर्ने घोषणा गर्नुभएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष मञ्जु देवी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडा, वडा अध्यक्षहरू बन्धु शाह तेली, दबेन्द्र प्रसाद कुर्मी, राजकिशोर पटेल, अबास मियाँ चुरिहार, मनौर अहमद, शिक्षा शाखा प्रमुख जितेन्द्र प्रसाद चौहान, शिक्षक महासंघका अध्यक्ष म. आरिफ अन्सारी, कार्यपालिका सदस्यहरू, शिक्षा प्रेमी धुरुप साह, समाजसेवी श्यामकिशोर प्रसाद पटेल,सरोज पटेललगायतको उल्लेखनीय सहभागिता रहेको थियो।









