मेवालाल यादव
जनकपुरधाम — मधेश प्रदेशको राजनीतिक परिस्थितिमा नयाँ मोड देखिँदैछ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान नगरेपछि नेपाली कांग्रेससहित ७ दलका शीर्ष नेताहरू आइतबार प्रदेश प्रमुखको कार्यालय पुगेका छन्। नयाँ सरकार गठनका लागि संविधानको धारा १६८(२) बमोजिम पहल गर्न नेताहरूले औपचारिक रूपमा अनुरोध गरेका हुन्।

प्रदेश प्रमुखलाई भेट्न पुगेकामा — नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, कार्यबाहक मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल), नेकपा माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव, नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्तिका सांसद उर्मिला देवी सिंह , जनमत दलका नेता महेश यादव ,लोसपा दलका नेता जयनुल राइनो, माओवादी दलका नेता भरत साह रहेका थिए।

नेताहरूको संयुक्त प्रतिनिधिमण्डलले प्रदेश प्रमुख समक्ष लिखित रूपमा आग्रह गर्दै भनेको छ । प्रदेश सभामा बहुमत प्राप्त गर्न सक्ने दलहरूबीच सहमति बनेको छ, त्यसअनुसार संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्छ।” यसअघि कार्यबाहक मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शनिबार नै आफ्नो पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख भण्डारीले दिनभर विभिन्न दलका नेता र संविधान विज्ञहरूसँग परामर्श गरेकी थिइन्, तर अझैसम्म नयाँ सरकार गठनको आह्वान गरेकी छैनन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवका अनुसार, मधेश प्रदेशमा दलहरूबीचको सहमति र शक्ति सन्तुलनका कारण सरकार गठनमा केही समय लाग्ने देखिन्छ। तर नेपाली कांग्रेस, जसपा नेपाल , माओवादी, समाजवादी र नागरिक उन्मुक्ति दलबीचको संयुक्त प्रयासले प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने संकेत प्रष्ट देखिन थालेको बताउनुभयो ।









