एजाज अंसारी धोबिनी।
धोबिनी गाउँपालिका-५ को सानो धोबिनी जाने मुख्य सडकको पुलमा ठूला गाडीले यात्रा गर्न नसक्दा स्थानीय बासिन्दाहरू गम्भीर समस्या भोगिरहेका छन्। स्थानीय कृषकहरूले धान काटिसकेपछि खेतबाट घरसम्म उत्पादन पुर्याउन गाडीमा ढुवानी गर्नुपर्ने अवस्था भए पनि पुल कमजोर र असुरक्षित भएकाले यातायात ठप्प भएको छ। यसले किसानहरूको दैनिक जीवन र आर्थिक गतिविधिमा प्रत्यक्ष असर पारेको छ।
स्थानीयवासीहरूका अनुसार, धान र अन्य कृषि उत्पादन समयमै बजार वा घरसम्म पुर्याउन नसक्दा उनीहरूको मेहनत र आम्दानी दुवै जोखिममा पर्न सक्छ। विशेषगरी वर्षभरि मिहिनेत गरेर उब्जाएको धानले खराब मौसम वा ढुवानी असुविधाका कारण नोक्सानी हुन सक्ने सम्भावना बढेको छ।
स्थानीयहरू गुनासो गर्दै गाउँपालिका र सम्बन्धित निकायलाई तुरुन्तै सडक र पुल मर्मत गरी ठूला गाडीको सहज आवतजावत सुनिश्चित गर्न आग्रह गरेका छन्। उनीहरूले चेतावनी दिएका छन् कि ढिलाइ भए आगामी समयमा कृषि उत्पादनको ढुवानीमा अझ ठूलो समस्या उत्पन्न हुनेछ र गाउँको दैनिक जीवन कठिन हुने सम्भावना छ।









