वीरगञ्ज ।
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । बैठक आइतबार (भोलि) दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
प्रधानमन्त्री सचिवालयले जनाएअनुसार बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी हुनेछन् ।
प्रधानमन्त्री कार्कीले परिवर्तित राजनीतिक परिस्थितिमा सङ्घीय र प्रदेश सरकारबिचको सहकार्य सुदृढ गर्न, आगामी निर्वाचन तयारी र नीति कार्यान्वयनका विषयमा समन्वय बढाउनका लागि यो बैठक बोलाएकी हुन् ।
सरकारका उच्च अधिकारीहरूका अनुसार बैठकमा सङ्घीय र प्रदेश सरकारबिचको कामकारबाहीलाई प्रभावकारी बनाउने, स्रोतसाधनको उपयोगमा समन्वय गर्ने तथा निर्वाचनमा प्रदेश सरकारको भूमिकाबारे विस्तृत छलफल हुनेछ ।
प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबिच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक महत्त्वपूर्ण हुने बताएकी छन् । छलफलले संघ–प्रदेशबिचको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।









