बारा । बारामा छठ पूजा हेर्न जान्छु भन्दै घरबाट निस्केका एक युवक मृत अवस्थामा फेला परेका छन्। महागढीमाई नगरपालिका–५, बगडमपुरका १९ वर्षीय भोला सहनीको शव मंगलबार बिहान एक पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। परिवारका अनुसार भोला सोमबार साँझ “छठ पूजामा जान्छु” भन्दै घरबाट निस्केका थिए। तर, उनी रातभर घर नफर्केपछि मंगलबार बिहान उनका बुबा ध्रुव सहनीले छोरा हराएको जानकारी गंजभवानिपुर प्रहरी चौकीमा दिएका थिए।
प्रहरी नायब निरीक्षक बालराज गिरिको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा महागढीमाई नगरपालिका–४ र ५ को सिमानामा रहेको बाँसघारी क्षेत्रमा भोलाका व्यक्तिगत सामग्रीहरू (स्टिलको बाला, जुत्ता, पर्स, कालो हुडी, मोबाइल, घडी र इयरबड) फेला पारेको थियो।
यी सामग्री भेटिएपछि प्रहरीले खोजी तीव्र पारेको र त्यसको केही समयपछि दहियार टोलका ललन यादवको पोखरीमा उनको शव फेला परेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार घटना शंकास्पद देखिएकाले दुई जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।









