अशोक यादव
सर्लाही । महान आस्था, श्रद्धा र निष्ठाको पर्व छठको पावन अवसरमा धनकौल गाउँपालिकाका नेपाली कांग्रेसका युवा नेता दीपेन्द्र साहले समाजसेवामूलक पहल गर्दै विपन्न, दलित तथा एकल महिलाहरूलाई साडी वितरण गरेका छन्।
आइतबार सम्पन्न कार्यक्रममा साहले आफ्नो व्यक्तिगत खर्चमा करिब ३०० साडी वितरण गरेको बताए। उनले भने —
“छठ जस्तो महान् पर्वमा सानो सहयोगले पनि ठूलो खुशी बाँडिन्छ। म आगामी वर्षहरूमा अझ बढी सहयोग गर्ने प्रतिबद्धता जनाउँछु।”
वितरण कार्यक्रम गाउँपालिकाका विभिन्न टोलमा सम्पन्न गरिएको थियो, जसमा व्रतालु महिलाहरूले खुशी व्यक्त गर्दै साहको यो कदमले समुदायमा सकारात्मक सन्देश गएको बताए।
छठ पर्व हिन्दु धर्मावलम्बीहरूको आस्था, अनुशासन र समर्पणको प्रतीक पर्व हो। यस अवसरमा विपन्न तथा गरिबीको रेखामुनि रहेका परिवारलाई नयाँ साडी प्रदान गर्नुले उनीहरूलाई पर्वमा सहभागी हुने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।
स्थानीयहरूले भने —
“दुई छाक खानसम्म समस्या हुने परिवारलाई यस्तो सहयोगले ठूलो राहत मिलेको छ। यसले समाजमा सह–अस्तित्व र एकताको भावना बढाउँछ।”
कार्यक्रमले समुदायमा सामाजिक एकता, सहयोग र धार्मिक समर्पणको सन्देश फैलाएको सहभागीहरूको भनाइ छ।









