बिरगंज। छठ पर्वको तयारीसँगै वीरगन्जका छठ घाटहरूमा सरसफाइ र साजसज्जाको दौडधुप सुरु भएको छ। यहाँका विभिन्न घाटहरूबीच आकर्षक सजावट र व्यवस्थापनमा अघोषित प्रतिस्पर्धा नै चलेको छ।
त्यसमध्ये पनि घडिअर्वा छठ घाट हरेक वर्षजस्तै यसपटक पनि विशेष आकर्षणको केन्द्र बनेको छ। आकर्षक पन्डाल, फूलमालाले सजिएका प्रवेशद्वार, र रंगीन बत्तीको झिलिमिलीले सजिएको घाट रातमा झन् मनमोहक देखिन्छ।
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अनुसार, यस वर्ष घाट व्यवस्थापन र सजावटमा करिब २५ लाख रुपैयाँ खर्च गरिएको छ। समितिका उपाध्यक्ष आत्माराम गुप्ताका अनुसार प्रारम्भिक तयारी सकिएको छ र शनिबार रातिसम्म सम्पूर्ण साजसज्जा कार्य पूरा हुनेछ।
घाटमा आउने श्रद्धालुहरूको सुरक्षाका लागि प्रहरी र स्वयंसेवक टोली खटाइने तयारी भइरहेको समितिले जनाएको छ। छठको अवसरमा यो घाटमा वीरगन्जका साथै आसपासका जिल्लाबाट समेत भक्तजनहरूको भीड लाग्ने गर्दछ।









