२०८२ फाल्गुन १९ गते मंगलवार

रौतहटका नौ वटा स्थानीय तहको आर्थिक कारोबार बन्द

अशोक यादव

रौतहट । रौतहटका नौ वटा स्थानीय तहको आर्थिक कारोबार रोकिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले गौर नगरपालिका, इशनाथ नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, बौधीमाइ नगरपालिका, मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गढिमाइ नगरपालिका र माधवनारायण नगरपालिकाको खाता बन्द गरेको हो।

रौतहटका १८ वटा स्थानीय तहमध्ये हालसम्म केवल पाँच स्थानीय तहमा मात्र दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत (प्रमुख प्रशा.अ.) कार्यरत छन्। बाँकी १३ स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतमार्फत मात्र आर्थिक कारोबार सञ्चालन हुँदै आएको थियो।

Advertiesment

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ गते महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म मात्र खर्च गर्ने अधिकार प्रदान गरेको थियो। सोही अवधिको अन्त्यसँगै असोज ३१ गते राति १० बजे नौ स्थानीय तहको सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लक गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमले जानकारी दिनुभयो।

देवाही गोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षको सभा नै हुन सकेको छैन भने गुजरा नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत अभावका कारण आर्थिक कारोबार ठप्प भएको छ।

यसैबीच, राजदेवी नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज ३१ गते शुक्रबार पुनः निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।

वृन्दावन नगरपालिकामा भने निमित्त प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलको सरुवा भए पनि नयाँ अधिकारीले रमाना लिन अस्वीकार गरेपछि उक्त नगरपालिकाको सम्पूर्ण खाता निष्क्रिय पारिएको कार्यालयले जनाएको छ।

यता, दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका गरुडा, कटहरिया, चन्द्रपुर, यमुनामाई र दुर्गा भगवती गाउँपालिकाको आर्थिक कारोबार भने नियमित रूपमा सञ्चालनमा रहेको गौतमले जानकारी दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM