२०८२ आश्विन ३० गते बिहीबार

रौतहटको बंकुल नाकाबाट प्रहरीकै मिलोमतोमा व्यापक तस्करी, घुमुवाहरु पैसा उठाउन व्यस्त

मेवालाल यादव
रौतहट । रौतहटको बंकुल नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक तस्करी भइरहेको छ । बंकुल छोटी भन्सार नाकामा खटिने सशस्त्र प्रहरीले लाइन दिएपछि भारतीय सीमानाकामा चोरी तस्करी बढेको छ। भारतीय बजारसँग सिमाना जोडिएको रौतहटका संगठित तथा पोके तस्करहरूले पछिल्लो समय जिल्लाको बंकुल छोटी भन्सार, बड़ा बंकुल, नरकटिया, रामपुर खापबाट व्यापक रूपमा तस्करी फस्टाएको हो।
रौतहटको सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रियता बढेको देखिएको छ। भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार हुँदा हुदै जिल्लाको पश्चिमी भेगमा रहेको बंकुल बजार स्थितका छोटी भन्सार बंकुलमा खटिने सशस्त्र प्रहरीका गस्ती टोली युनिटले तस्करहरूबाट मासिक रकम लिएर अवैध कारोबार सञ्चालनमा सघाइरहेको स्रोतले बताएको छ।

सीमा वारपार हुने तस्करी नियन्त्रणको जिम्मा पाएका निकायहरूकै संलग्नता र सहयोगमा तस्करी व्यापक मात्रामा मौलाएको देखिन्छ। भारतीय बजार घोड़ासहनबाट रौतहटको छोटी भन्सार बंकुल नाका भएर भारतीय ट्याम्पो तथा मोटरसाइकिलमा सशस्त्र प्रहरीकै संलग्नतामा व्यापक मात्रा तस्करी भइरहेको छ।

रौतहटको मुख्य नाकाको रूपामा रहेका पाँच वटा नाका बेलबिछवा, गौर भन्सार, औरैया, रामपुर खापमा पाँच वटा बी ओ पी रहेका छन, जसमध्ये गौर भन्सार, बेलबिछवा, औरैया, रामपुरखाप र बी ओ पी सरमुजवा लगायतका बी ओ पी हरुमा सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा र नया निरीक्षकहरु बी ओ पी मा आउने बित्तिकै तस्करहरुसंग साटघाट गरि राति राति र बिहान सेटिंगमा संगठित रूपमा तस्करी भइरहेको स्थानियहरु बताउछन ।
बीओपी सरमुजवाका सशस्त्र प्रहरी निरीक्षकले नेपालका ठुला साना सबै तस्करहरु संग मासिक रूपमा मोटो रकम लिई बड़ा बंकुल र नरकटिया सिमा नाकाबाट अबैध तयारी कुखुरा, भुरा, स्पेयर पार्ट्स, कास्मेटिक आइटम, किराना खाद्यान्न सामग्री, लताकपडा, रेडीमेट कपडा लगायतका वस्तुहरूको ओसार पोसारमा सघाउ पुरयाएकोले राजस्व संकलनमा कमी आएको देखिएको छ । सिमानाकामा खटेका सशस्त्र प्रहरी मात्र नभएर भन्सार छलीका अवैध सामग्री ढुवानी हुने गरेको क्षेत्र पर्ने नेपाल प्रहरीले समेत तस्करहरुबाट मासिक रुपमा मोटो रकम लिई ढुवानी कार्यमा सघाईरहेको देखिन्छ ।
केही दिन अगाडी मात्र ईलाका प्रहरी कार्यालय कोपवा पिपरीयाले ट्रकमा लोड गरि ठुलो मात्रामा भन्सार छलिको सामग्री नेपाल भित्रयाउदै गरेको अवस्थामा राति साढ़े ८ बजेको समयमा  पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर पठाएको थियो। रौतहटमा तस्करी हुँदैन भन्दै सशस्त्र प्रहरी प्रमुखहरुले ठोकुवा गर्दै आएको समयमा एकै पटक मालबाहक ट्रक फेला पर्नु तथा बेला बेलामा जिल्लाको टोलीद्वारा सामान सहित मोटरसाइकिल बरामद हुनु सिमानाकामा खटेका सशस्त्र प्रहरी र सम्बन्धित नेपाल प्रहरीको ठुलो चलखेलमा तस्करी भइरहेको स्थानीयहरुको भनाई रहेको छ ।
सशस्त्र प्रहरीले सर्वसाधारणलाई दुःख दिने र दिनहुँ दशौँ पटकसम्म सामान ओसारपसार गर्नेलाई छुट दिने गरेको स्थानीयहरु बताउँछन्। तस्करहरुसँग सशस्त्र प्रहरी र नेपाल प्रहरीको डिल भएकाले तिनीहरुलाई केही नगर्ने तर सर्वसाधारणले आफ्नो घरायसी प्रयोजनका लागि केही मात्रामा सामान ल्याउँदा माथिको निर्देशन भन्दै सताउने गरेको स्थानीयहरुको गुनासो छ।

बंकुल नाकाको छेउबाट लाखौं मूल्य बराबरको कपडाको तस्करी दिनहुँ भइरहेको छ। केही भारतीय र नेपालका खुद्रा तथा थोक तस्करहरुसँगको मिलेमतोमा सशस्त्र प्रहरीको आन्तरिक सेटिङ्ग‌मा दिनहुँ लाखौंको तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुको भनाई छ।
अत्यधिक मात्रामा तस्करी बढेको भए पनि सुरक्षाकर्मीहरू सर्वसाधारणलाई निकै टाइट गरेको देखाएर तस्करहरुलाई रामराज्य बनाएका छन । सुरक्षा निकायका प्रमुखहरू भने खुला सीमाका कारण समस्या आएको र तस्करीको लाइनका बारेमा कुनै जानकारी नभएको बताउँछन । सशस्त्र तथा नेपाल प्रहरीको घुमुवा भन्दै दिन्हु सिमानाका भन्दा करिब दश किलोमिटर भित्र सामान तथा तस्करहरुलाई समातेर पैसा असुल्ने गरेको प्रत्यक्षदर्शीहरूको भनाई रहेको छ । बौधिमाई नगरपालिकाको वडा नं. २ इनर्वा लालबकैया नदीको पुल बाटो भएर दिनका दिन सयौ संख्यामा मोटरसाइकिलमा तस्करीको सामान आयात भइरहेको देखिन्छ । राति राति पनि किराना सामग्री, चीनी, लताकपडा, चपल लगायत विभिन्न सामग्री प्रहरिकै सक्रियतामा ढुवानी भइरहेको स्थानीयबासीहरुले बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM