२०८२ फाल्गुन १९ गते मंगलवार

दलित बस्तीका बाढीपीडितलाई ह्युमन लभ च्यारिटी फण्डद्वारा राहत वितरण

एजाज अंसारी धाेबिनी-५ , पर्सा — अशोज २२:

पर्सा जिल्लाको पोखरिया नगरपालिका–५ सतवरियास्थित दलित बस्तीमा रहेका बाढीपीडित परिवारहरूलाई ह्युमन लभ च्यारिटी फण्डले राहत वितरण गरेको छ। लगातार दुई दिनसम्म परेको अविरल वर्षाका कारण बस्ती पूरै डुबानमा परेको थियो, जसका कारण जनजीवन अस्तव्यस्त बनेको र स्थानीयवासीहरू घरबार छोडेर खुलेआकाशमुनि बस्न बाध्य भएका थिए।

 

बाढीले अधिकांश घरहरूमा पानी पसेपछि खाना पकाउनेदेखि बालबालिका र वृद्धवृद्धाको सुरक्षासम्म गम्भीर समस्या सिर्जना भएको थियो। यस्तै अवस्थामा पीडितहरूको तत्काल राहतका लागि ह्युमन लभ च्यारिटी फण्डले अग्रसरता लिएको हो।

 

संस्थाका सह–सञ्चालक डा. मो. इमरान अंसारी का अनुसार, सतवरियाका करिब ३० दलित परिवारलाई आधारभूत खाद्य सामग्री वितरण गरिएको हो। “अविरल वर्षाका कारण पीडितहरू निकै कष्टकर जीवन बिताइरहेका थिए। तत्काल राहत स्वरूप हामीले  खाद्य सामग्री वितरण गरेका छौं,” उनले भने।

 

राहत वितरण कार्यक्रम संस्थाका सदस्य निजामोदिन अंसारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सह–सञ्चालक डा. मो. इमरान अंसारी, सदस्य विकास कुमार, अजय पटेल, साथै स्थानीय समाजसेवी, बुद्धिजीवी र बाढीपीडित परिवारका प्रतिनिधिहरूको उपस्थिति थियो।

 

डा. अंसारीले थपे, “हाम्रो संस्था सधैं संकटको समयमा पीडित समुदायको साथमा रहने प्रतिबद्धता राख्छ। यो राहत वितरण केवल तत्कालीन सहयोग हो, आगामी दिनमा पुनःस्थापनाका काममा पनि सहयोग गर्ने योजना छ।”

 

स्थानीयवासीहरूले ह्युमन लभ च्यारिटी फण्डप्रति आभार व्यक्त गर्दै भनेका छन् कि संस्थाको सहयोगले कठिन घडीमा ठूलो राहत मिलेको छ। उनीहरूले स्थानीय सरकार र अन्य संघसंस्थाहरूसमेतले निरन्तर सहयोग जारी राख्न आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM