ओखलढुङ्गा: मानेभञ्ज्याङस्थित सिद्धिचरण लोकमार्गको भँडारे खोलामा आएको लेदोयुक्त बाढीले सडक क्षति पुर्याउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। अविरल वर्षापछि आएको बाढीले सडकको ठूलो भाग बगाएर सडक आवागमन ठप्प बनेको स्थानीयहरूले बताएका छन्।
सडक अवरुद्ध भएपछि यात्रु र सवारीसाधनहरू बाटोमै रोकिएका छन्। नेपाल प्रहरीले तत्काल घटनास्थलमा पुगेर सडक सफा गर्ने, फसेका सवारीसाधनहरू उद्धार गर्ने र सुरक्षित आवागमनका लागि वैकल्पिक मार्गको व्यवस्था मिलाउने कार्य सुरु गरेको छ।
प्रहरीले जनतालाई अनावश्यक जोखिम नलिन र वर्षाको समयसम्म सो क्षेत्रमा सवारीसाधन नचलाउन आग्रह गरेको छ। स्थानीय स्तरमा समेत डोजर र अन्य उपकरण प्रयोग गरी सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।









