२०८२ फाल्गुन १९ गते मंगलवार

वीरगंजमा सर्वाधिक वर्षा, ४० जिल्लामा रेड अलर्ट

वीरगंज, १८ असोज । पछिल्लो २४ घण्टामा पर्साको वीरगंजमा ११७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन देशभरिमा सबैभन्दा बढी हो। पर्साकै मुडली र रंगपुर टाँडीबजारमा पनि ठूलो पानी परेको छ। यसका साथै बाराको कलैयामा १०५.८, रौतहटको गौरमा १०४.६ र गरूडामा ८९.६ मिलिमिटर वर्षा भएको तथ्याङ्कले जनाएको छ । भारी वर्षाले गर्दा जल तथा मौसम विज्ञान विभागले देशका ४० जिल्लालाई बाढीको उच्च जोखिम सूचीमा राखेको छ। आश्चर्यजनक रूपमा, काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर) समेत अति उच्च जोखिमको सूचीमा परेको छ। मौसमविदले असोज २० गतेसम्म देशका कतिपय ठाउँमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अति उच्च जोखिममा रहेका मुख्य जिल्लाहरूमा मधेश प्रदेशः सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा। अन्य क्षेत्रः सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, चितवन। विभागका अनुसार, वर्षाको दर राति अझै बढ्ने सम्भावना छ। तसर्थ, नदी किनार र जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूले सुरक्षित स्थानमा सरिसक्न र आगामी केही दिनसम्म विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ। बंगालको खाडीबाट विकसित प्रणालीको असरले मौसममा व्यापक फेरबदल ल्याएको छ। यसको सीधा प्रभाव तराई–मधेश क्षेत्रमा परेको छ, जहाँ पछिल्लो २४ घण्टामा वर्षाले रेकर्ड नै तोडेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM