वीरगञ्ज। पर्साको बहुवरीबाट उद्धार गरिएकी गर्भवती महिलाले मंगलबार साँझ एक स्वस्थ शिशु छोरीलाई जन्म दिएकी छिन्।
मानवसेवा आश्रम वीरगञ्ज शाखाका संस्थापक अभियन्ता देवेश गुप्ताका अनुसार मंगलबार बेलुकी ५:२३ बजे नारायणी अस्पतालमा प्रसूति भएको हो।
यसअघि असोज ११ गते शनिबार राति करिब ९ बजे, वडा प्रहरी कार्यालयका प्र.स.नी भुलेन्द्र गिरी, आश्रमका अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारुले करिब ३० वर्षकी, नाम थर प्रष्ट भन्न नसक्ने गर्भवती महिलालाई मानवसेवा आश्रम वीरगञ्ज शाखामा ल्याएका थिए।
मंगलबार दिउँसो पेट दुखाइ भएपछि उनलाई अस्पताल पुर्याइएको थियो। प्रसूति क्रममा मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु, सामाजिक अभियन्ता पिया सिंह, आश्रमका केन्द्रीय सदस्य विवेक महतो, स्वयंसेवकहरू विकास माली, अंशु क्षेत्री, संगीता परियार, प्रहरी जवान नगेश्वर यादव, ओमकुमार झा, दिपेन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो।









