रातोन्युज संवाददाता
वीरगञ्ज । दशैँ मेलामा घुम्न आएका भक्तजन तथा दर्शनार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नेपाल सि.एम.ए. संघ, जिल्ला कार्य समिति पर्साले आज (सोमबार)देखि घण्टाघरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
मेलामा भीडभाड बढ्ने भएकाले आकस्मिक उपचारको आवश्यकता पर्न सक्ने अनुमान गर्दै संघले विशेष तयारीसहित स्वास्थ्यकर्मीहरूको टोली खटाएको छ। शिविरमार्फत भक्तजनलाई सामान्य स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण र आकस्मिक उपचार सुविधा प्रदान गरिएको संघका सह सचिव रेयाज हुसेनले जानकारी दिनुभयो ।

शिविरको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले गर्नुभयो। उहाँले यस्ता स्वास्थ्य शिविरले नागरिकलाई तत्काल राहत दिने भएकाले यसको निरन्तरता आवश्यक रहेको बताउनुभयो। सुवेदीले सरकारी निकाय र स्वास्थ्य संस्थाबीच सहकार्य गरेर अझ प्रभावकारी सेवा विस्तार गर्न सकिने धारणा राख्नुभयो।
त्यस्तै, विशिष्ट अतिथि सि.एम.ए. संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसादले संघले सदैव स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सामुदायिक सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको बताए। उहाँले पर्व–महोत्सव वा भीडभाड हुने ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्नु संघको नियमित अभियानको हिस्सा भएको उल्लेख गर्दै यसले सर्वसाधारणलाई तत्काल र प्रत्यक्ष सेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमकाे सभापतित्व संघका जिल्ला अध्यक्ष जितेन्द्र महताेले गर्नुभयो ।उहाँले संघले सामाजिक उत्तरदायित्वअनुरूप विभिन्न समय र अवसरमा नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आएको बताउनुभयो।
शिविरमा विशिष्ट अतिथिकाे रूपमा केन्द्रीय सदस्य राम दयाल महताे , संघका पूर्व जिल्ला अध्यक्ष योगेन्द्र चौरसिया, पूर्व जिल्ला अध्यक्ष सोनालाल चौरसिया, साहेब साह लगायतको उपस्थिति रहेको थियो। उहाँहरूले संघको पहललाई प्रशंसा गर्दै सामाजिक उत्तरदायित्व पूरा गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए।

दुई दिनसम्म सञ्चालन हुने यस शिविरमा बिहानदेखि बेलुकासम्म स्वास्थ्य परीक्षण, रक्तचाप र सुगर जाँच, सामान्य रोगको उपचार, आकस्मिक उपचार सुविधा लगायत सेवा प्रदान गरिनेछ। सह सचिव हुसेनका अनुसार मेलामा सयौं भक्तजन लाभान्वित हुने अपेक्षा गरिएको छ।
नेपाल सि.एम.ए. संघ, जिल्ला कार्य समिति पर्साले स्वास्थ्य सेवा नपुगेका समुदायलाई लक्षित गरी भविष्यमा पनि निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।









