मेवालाल यादव
बिरगंज । नेपालमा पहिलोपटक मुस्लिम युवालाई लक्षित गर्दै विराटनगरमा सुशासन र सार्वजनिक प्रशासनबारे विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल मुस्लिम युथ कमिटी, विराटनगरको आयोजनामा संगम पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा मुस्लिम युवालाई राजनीति, शासन प्रणाली, नीति निर्माण र सार्वजनिक सेवामा अवसरबारे गहिरो मार्गदर्शन दिइयो।
कार्यक्रमका प्रमुख प्रशिक्षक पूर्वमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले मुस्लिम समुदायको ऐतिहासिक योगदानलाई स्मरण गर्दै अहिलेको पुस्ताले पनि आफ्नो पहिचान र अधिकार सुनिश्चित गर्न राज्यका विविध संरचनामा प्रवेश गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “नेपालको निर्माणमा मुस्लिम समुदायको योगदान सैन्य, प्रशासनिक, कानुनी, कूटनीतिक, वास्तुकला, संगीत, भाषा र साहित्यका क्षेत्रमा अमूल्य छ। तर आज हामी शिक्षा, क्षमता र इच्छाशक्तिमा कमजोर भएका कारण मनोबल घटेको छ। युवाले सुशासनलाई व्यवहारमा उतार्दै राजनीति र सार्वजनिक प्रशासनमा सशक्त भूमिका खेल्नुपर्छ।” सार्वजनिक प्रशासनका विज्ञ सत्तार अन्सारीले मुस्लिम युवाले राज्य प्रणालीभित्र प्रवेश नगरी केवल आलोचनाबाट मात्र परिवर्तन सम्भव नहुने बताए। उनले प्रतिस्पर्धात्मक सेवामा प्रवेश गर्न गम्भीर तयारी आवश्यक रहेको उल्लेख गर्दै तथ्याङ्क प्रस्तुत गरे। उनका अनुसार सार्वजनिक प्रशासनमा मुस्लिम युवाको सहभागिता न्युन भए पनि दृढता र लगनशीलताले निकट भविष्यमा सुधार ल्याउन सकिने सम्भावना छ। हालै शाखा अधिकृतमा नियुक्त रानी खातुनले आफ्नो अनुभव सुनाउँदै सरकारी सेवामा प्रवेश चुनौतीपूर्ण भए पनि निरन्तर अध्ययन र आत्मविश्वासले असम्भवलाई सम्भव बनाउन सकिने बताइन्। मुस्लिम युवाले आत्मबलका साथ अघि बढेमा प्रतिस्पर्धात्मक परीक्षामा सफल भई सेवामा योगदान दिन सक्ने उनको धारणा थियो।
समीक्षक माजिद अन्सारीले यस प्रशिक्षणलाई मुस्लिम समुदायका लागि ऐतिहासिक पहलको रूपमा चित्रण गर्दै भने, “यस किसिमको कार्यक्रमले युवामा आत्मविश्वास मात्र जगाउने होइन, भविष्यमा नीति निर्माण तहमा मुस्लिम आवाजलाई सशक्त बनाउने आधार तयार गर्नेछ।” कार्यक्रम निसार अहमदको अध्यक्षता र एमाम हैदरको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा मोरङका अतिरिक्त झापा र सिरहाका युवासहित स्थानीय विद्यार्थी, समाजसेवी र बौद्धिक वर्गको उल्लेखनीय उपस्थिति थियो। आयोजक समितिले आगामी दिनमा यस्ता प्रशिक्षण अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।









