शैलेश गुप्ता
पोखरिया । पर्साको ग्रामीण भेगका विभिन्न शक्ति पीठ तथा दुर्गा भवानीका मन्दिरहरूमा आज घटस्थापना गरी दशैंको धार्मिक विधि अनुसार पूजा–आराधना सुरु गरिएको छ। घटस्थापना संगै जमरा खसाल्ने र दीपक बाल्ने परम्परा अनुसार देवी दुर्गा भवानीको पूजा प्रारम्भ गरिएको हो।
पोखरिया नगरपालिकाको वडा नम्बर ४ सतवरिया स्थित लक्षवारमाई दुर्गा मन्दिर, पोखरिया बजार, बनकटवा सातोमाई देवीस्थान, सेमरबारी, लमरिया, फुलवरिया, श्रीसिया, रानीगञ्ज रहरिया, जगतपुर मन्नपुर, बैरिया बिर्ता, धोविनी गाउँपालिकास्थित लंगडी बजार, छिपहरमाई गाउँपालिका–४ स्थित छिपहरमाई दुर्गा मन्दिर, जगरनाथपुर गाउँपालिका र पकहामैनपुर गाउँपालिकाका विभिन्न स्थानहरूमा घटस्थापना सम्पन्न भएको हो। अब दशैंभर (विजयादशमीको दिनसम्म) निरन्तर पूजा–पाठ हुने छ।
विशेषगरी सतवरिया स्थित लक्षवारमाई दुर्गा मन्दिरमा घटस्थापनादेखि विजयादशमीसम्म दैनिक पूजा हुन्छ। स्थानीय धार्मिक विश्वास अनुसार देवीको कृपालाई स्पर्श गर्ने व्यक्तिहरूमा विभिन्न भूत–प्रेत, दु:ख–कष्ट र रोगव्याधी दूर हुने मान्यता रहेको छ।
यस्तै, कालरात्रिको दिन यहाँ विशेष पूजा–पाठ हुने परम्परा छ। श्रद्धालुहरूको विश्वासअनुसार यस दिन देवीको कृपाले अशुभ शक्तिहरू नष्ट हुने र पिडाबाट मुक्ति मिल्ने गर्छ। कालरात्रिको रातमा देवीको ‘खपर’ पनि निकाल्ने गरिन्छ, जसमा सहभागी हुने भक्तजनका दु:ख–कष्ट हराउने जनविश्वास रहेको छ।









