२०८२ फाल्गुन १९ गते मंगलवार

धोबिनी गाउँपालिका कार्यालयमा स्थानियबासीद्वारा तालाबन्दी

वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिकामा स्थानीयहरूले विरोध प्रदर्शन गर्दै तालाबन्दी गरेका छन् । गाउँपालिकाको कामकारबाही दुरुस्त र पारदर्शी नभएको भन्दै नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताले गाउँपालिका कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले गाउँपालिकाले सञ्चालन गरेका विभिन्न योजना तथा कार्यक्रमसम्बन्धी सूचना माग्दा समेत उपलब्ध नगराइएको आरोप लगाए । पटक–पटक ताकेता गर्दा पनि गाउँपालिकाले कुनै चासो नदेखाएको र कामकारबाही पारदर्शी नभएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए ।

तालाबन्दीका कारण गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानसहित अन्य जनप्रतिनिधि र कर्मचारीहरू कार्यालय भित्रै थुनिएका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको छ भने वार्ताको माध्यमबाट तालाबन्दी खुलाउने प्रयास जारी छ ।

गाउँपालिका कार्यालय अगाडि सयौँको सङ्ख्यामा स्थानीयले विभिन्न नाराबाजी लगाउँदै विरोध प्रदर्शन जारी राखेका छन् । विवाद मिलाउन पहल भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक स्वरूप शर्माले बताए । उनका अनुसार गाउँपालिका क्षेत्रमा स्थिति सामान्य छ र दुवै पक्षबिच वार्ताको तयारी भइरहेको छ ।

यता, धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले भने गाउँपालिकाले कुनै सूचना लुकाउने प्रयास नगरेको स्पष्ट पारे । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएको कारण तत्काल सूचना उपलब्ध गराउन नसकिएको हो । नयाँ अधिकृत हाजिर भइसकेको भन्दै उनले मागअनुसार सूचना उपलब्ध गराइने बताए । तर, आवश्यक माग अघि सारेर विवाद सिर्जना गर्ने प्रयास भइरहेको उनको आरोप छ ।

“गाउँपालिकाको गेट आम सर्वसाधारणका लागि सधैँ खुला छ,” भन्दै अध्यक्ष चौहानले प्रदर्शन र तालाबन्दी अन्त्य गरी संवादमा आउन प्रदर्शनकारी पक्षलाई आह्वान गरे ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM