२०८२ फाल्गुन १९ गते मंगलवार

‘नेपाल क्यान’ले ल्यायो निःशुल्क वेबसाइट निर्माण सुविधा

मेवालाल यादव

रौतहट । नेपाल क्यानले सबै अनलाइन बिक्रीकर्ताका लागि निःशुल्क वेबसाइट निर्माण सुविधा सुरु गरेको छ। हालै सरकारले पारित गरेको नयाँ विधेयक अनुसार अनलाइन विक्रीकर्ताहरूले अनिवार्य रूपमा आफ्नै वेबसाइट बनाउनुपर्ने भएपछि, नेपाल क्यानले यस्तो सुविधा उपलब्ध गराएको हो।

यस विधेयकले अनलाइन व्यवसाय गर्ने हजारौं साना र ठूला व्यवसायीहरूलाई आफ्नो डिजिटल बिक्री प्लेटफर्म बनाउन बाध्य बनाएको छ। यसलाई मध्यनजर गर्दै, नेपाल क्यानले कोडिङ आवश्यक नपर्ने वेबसाइट बिल्डर सार्वजनिक गरेको छ, जसको प्रयोगले कुनै पनि व्यक्तिले एक घण्टाभित्र ई–कमर्स वेबसाइट तयार गरी अनलाइन बिक्री सुरु गर्न सक्नेछन्।

कम्पनीका अनुसार, यो सेवाले विक्रेताहरूलाई वेबसाइट निर्माणमा लाग्ने समय, ऊर्जा र खर्च बचत गराउनेछ भने ग्राहकहरूको अनुभवलाई पनि सहज र आकर्षक बनाउनेछ।

वेबसाइट बनाउनका लागि प्रयोगकर्ताले वेबसाइट बिल्डरमा लगइन गरी दिइएका निर्देशहरू पालना गर्नुपर्नेछ र छोटो समयमा वेबसाइट तयार हुनेछ। वेबसाइटको नाम चयन गर्ने अधिकार प्रयोगकर्ताले पाउनेछन् भने तयार गरिएको वेबसाइट र अनलाइन स्टोर पूर्ण रूपमा विक्रेताको नियन्त्रणमा हुनेछ र सजिलै परिवर्तन गर्न सकिनेछ।

यस निःशुल्क वेबसाइट बिल्डरबाट उत्पादन र स्टक व्यवस्थापन, नयाँ उत्पादन थप्ने, मूल्य अपडेट गर्ने, अर्डर ट्र्याकिङ, भुक्तानी प्रणालीसँग जोडिने, र ढुवानी प्रक्रिया सहज बनाउने जस्ता सुविधाहरू पनि उपलब्ध हुनेछन्।

नेपाल क्यानका अनुसार, यो सेवा नेपालको ई-कमर्स क्षेत्रमा क्रान्तिकारी पहल हो, जसले प्राविधिक सीप नभएका व्यक्तिलाई समेत वेबसाइट बनाउन र चलाउन सक्ने बनाउनेछ।

यस सुविधाका लागि कुनै पनि प्रकारको शुल्क वा वार्षिक खर्च लाग्ने छैन। यो विशेषगरी अनलाइन व्यवसाय सुरु गर्न चाहने र आफ्नो व्यवसायलाई डिजिटल बजारमा विस्तार गर्न चाहने सबैका लागि ठूलो सहयोग साबित हुने नेपाल क्यानले जनाएको छ।

नेपाल क्यानका एक अधिकारीले भने, “हामी सधैं आफ्ना विक्रेताको आवश्यकता प्राथमिकतामा राख्छौं। यदि हाम्रो कुनै पहलले उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुग्छ भने हामी त्यसका लागि हरेक सम्भाव्य कदम चाल्नेछौं।”

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM