अशोक यादव
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसाद यादवमाथि नेपाल र भारत दुवै देशको नागरिकता लिएको आरोप लागेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले छानबिन सुरु गरेको छ।
जिल्ला प्रशासनका अनुसार नेपालकै नागरिकताको साथै भारत बिहारको पूर्वी चम्पारनको नागरिकता रहेको उजुरी परेपछि गत साउन ७ गते उनलाई सदरमुकाम गौरस्थित कार्यालयमा बोलाई बयान लिइएको हो। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले दोहोरो नागरिकताको आशंकामा बयान लिएको र थप प्रमाण संकलन भइरहेको जानकारी दिए।
नयाँ पत्रिकाले प्राप्त विवरणअनुसार, रामानन्दले भारत बिहारको पूर्वी चम्पारनबाट ‘पप्पु यादव’ नाममा नागरिकता लिई भारतीय निर्वाचन आयोगबाट मतदाता परिचयपत्र समेत प्राप्त गरेका छन्। उक्त परिचयपत्रमा जन्ममिति सन् १९८२, बुवाको नाम सियारामप्रसाद यादव र ठेगाना ‘परेवा सहर, चिरैया, पूर्वी चम्पारन’ उल्लेख छ।
नेपालमा भने उनले २०४७ जेठ २३ मा रौतहटबाट नागरिकता लिएका छन्, जसमा बुवाको नाम रामचन्द्र कापड यादव, ठेगाना पञ्चरुखी गाविस–३ र आमाको नाम कान्तीदेवी उल्लेख छ। दुवै देशका कागजातमा प्रयोग भएको फोटो मेल खाने प्रशासनको प्रारम्भिक निष्कर्ष छ।
छानबिनका क्रममा जिल्ला प्रशासनले नेपालस्थित भारतीय दूतावाससँग समेत पत्राचार गरेको छ। उक्त उजुरी दुई महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो, जुन गृह मन्त्रालय हुँदै प्रशासन कार्यालयमा आएको हो।
आरोपबारे प्रतिक्रिया दिँदै वडाध्यक्ष रामानन्द प्रसादले आफूले दोहोरो नागरिकता नलिएको दाबी गरेका छन्। उनले भने, “सिडिओ कार्यालयले नागरिकताबारे बयान लिएको हो, तर मसँग दुईवटा नागरिकता छैन। हाम्रो पुस्तौँपुस्ता नेपाली नागरिक हुन्।”









