शैलेश गुप्ता
पोखरिया । पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ अन्तर्गत पोखरिया बजार क्षेत्रमा खानेपानी मन्त्री माननीय प्रदीप यादवको निर्देशनमा चार स्थानमा डिप बोरिङ जडान गरिएको छ।
नगरपालिकाकी पूर्व उप–प्रमुख सलमा खातुनको विशेष पहलमा पोखरिया अस्पताल परिसरभित्र, आजाद मदरसा अगाडि, इलाका प्रहरी कार्यालय पोखरिया नजिक, र प्रहरी बिट अगाडि गरी चारवटै स्थानमा डिप बोरिङ जडान गरिएको हो।
खानेपानी मन्त्रालयले सञ्चालित ‘१ घर १ धारा, सफा र स्वच्छ पानी, स्वस्थ जीवन’ नारासहितको अभियान अन्तर्गत यी कार्यहरू अघि बढाइएका हुन्। मन्त्री यादवका स्वकीय सचिव हरिन्द्र साहका अनुसार पोखरियाका विभिन्न सार्वजनिक सेवा संस्थाहरू—जस्तै पोखरिया अस्पताल, मालपोत कार्यालय, नापी कार्यालय, इलाका प्रहरी कार्यालय, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रलगायत क्षेत्रमा स्वच्छ खानेपानी सहज पहुँच बनाउने उद्देश्यले यो पहल गरिएको हो।
सचिवालयका अनुसार पोखरिया नगरपालिकाको वडा नं. १ देखि १० सम्मका टोलटोलमा समेत खानेपानीको समस्या समाधान गर्न थप डिप बोरिङ जडानको योजना बनाइएको छ। योजना अनुसार, प्रत्येक घरघरमा शुद्ध र सुरक्षित खानेपानी पुर्याउने लक्ष्य लिइएको छ।









