शैलेश गुप्ता
पोखरिया । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मा पर्ने रामभौरी भाठामा अवस्थित श्री श्री १००८ श्री दुधेश्रवरनाथ महादेव मन्दिर भाठा धामको मेला प्रत्येक वर्ष श्रावण कृष्ण पक्ष परेवा तिथिदेखि १ महिना तथा माघ महिनाको शुक्ल पक्ष पञ्चमी, बैशाखको त्रयोदशी र जेठ महिनाको गङ्गा दशहराको समयमा कैयौँ दिनसम्म लाग्ने मेलाको सुरुवात हुने गर्दछ। ती मेलामा नेपालसहित भारत, चीन, अमेरिका, बङ्गलादेश, श्रीलङ्का जस्ता देशका पर्यटकहरू आउने गर्दछन्। समग्रमा हेर्दा बढीमा भारतको बिहार राज्यका पर्यटक श्रद्धालु भक्तजनहरू आउने गर्दछन्।
बाबा दुधेश्रवरनाथ महादेव मन्दिर भाठा धामको सुन्दर दृश्यको यात्रा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मा पर्ने सोनवर्षा गाउँबाट घना जंगल हुँदै सुरु हुन्छ। पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरेश्वर महादेव मन्दिर पोखरिया देखि जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ को माधोपुर हुँदै पटेर्वा सुगौली गाउँपालिकाको सुगौली नदीको बाँध पार गरेर बाबा दुधेश्रवरनाथ महादेव मन्दिर भाठा धामसम्मको यात्रा ३३ किलोमिटरको रहेको छ। वीरगञ्ज पावर हाउस चोकदेखि १८ किलोमिटर पश्चिमतर्फ पोखरिया पर्छ। भारतको सिकटा, पश्चिम चम्पारण (बिहार) बाट छिपहरमाई गाउँपालिका वडा नम्बर ५ को भिस्वा हुँदै पोखरिया सम्मको बाटो १२ किलोमिटरको रहेको छ।

सोनवर्षा गाउँबाट सुरु भएको घना जंगल यात्रामा पहिलो वनदेवी माताको मन्दिर पर्छ। ती वनदेवी माताको मन्दिरमा भक्तजनहरूले जंगलमा भएको जुनसुकै रुखको पात तथा हाँगा चढाएर आशीर्वाद लिई जंगलको यात्रामा अगाडि बढ्ने गर्दछन्। घना जंगलको यात्रामा जङ्गली जनावरको आक्रमण हुन सक्ने डर, भय, र त्रास नहोस् भनेर ज्यान जोगाउन तथा जनावरको आक्रमण नहोस् भन्ने धार्मिक विश्वास रहेको भक्तजनहरूले बताएका छन्। वनदेवी माताको मन्दिर पार गरेपछि अगाडिको बाटोमा सवुज गण, वन रक्षक प्रहरी चेकिङ पोष्ट पर्ने गर्दछ। त्यस सवुज गण चेकिङ पोष्टबाट अगाडि बढ्दा घना जंगलको बीचमा कहिले काहीँ हरिण, चितुवा, गैँडा, बाघ, वन कुखुरा, मोर, मयुर, स्याल, हात्ती, भालु, बाँदर, शुँगुर लगायतका जनावरहरू देखिन्छन्। वनदेवी माताको आशीर्वादले जतिसुकै जनावर भए पनि भक्तजनलाई कुनै किसिमको क्षति नहुने त्यहाँ रहेका भक्तजनहरूले बताएका छन्।
बाबा दुधेश्रवरनाथ महादेव मन्दिर भाठा धाममा प्रवेश गर्दा त्यहाँ रहेको सोते नदीमा स्नान गरी त्यही नदीबाट जल भरी बाबालाई जल अर्पण गर्न मन्दिरतिर लाग्ने गरिन्छ। मन्दिरको प्रदेशद्वार अगाडि श्रद्धालुहरूको आराम तथा खाना पकाउन र खानका लागि सार्वजनिक धर्मशाला रहेको छ। ती धर्मशालामा भक्तजनहरूले आफैँ खाना पकाई खाने गर्दछन् भने मन्दिरको भण्डारा पनि चलिरहेको हुन्छ। मन्दिरको भण्डारामा पनि भक्तजनहरूले खाना खाई आराम गर्ने गर्दछन्। मन्दिरको प्रवेशद्वारको दाहिने तर्फ गणेश भगवानको मन्दिर रहेको छ। त्यस मन्दिरमा सबैभन्दा पहिले बाबा गणेशजीको दर्शन गरी आशीर्वाद लिई मन्दिरको सिँढी चढ्ने गरिन्छ।
मन्दिरमा श्री श्री १००८ श्री दुधेश्रवरनाथ महादेवको मन्दिर, माता पार्वती र माता दुर्गाको मन्दिर रहेको छ।









